बारामा लागूऔषध गाँजा सहित चार जना पक्राउ
सिमराः बाराको विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ ।
निजगढ नगरपालिका–४ बकैया खोलाको बाँध कच्ची सडकबाट अवैध लागूऔषध गाँजा ६ किलो ७ सय ६० ग्राम सहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट फतुवा बिजयपुर नगरपालिका–४ बस्ने २५ वर्षीय राम प्रबेश महतो र सोही नगरपालिका–९ बस्ने २१ वर्षीय राजेश महतो रहेका छन् ।
ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले बागदेवबाट पुरानो निजगढतर्फ जाँदै गरेको प्र.०२–०२९ प २८३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १५ किलोग्राम लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम पंचायत राजमुरा–१४ चाग्डी गाउँ बस्ने २६ वर्षीय अखिलेख कुमार साह र १९ वर्षीय राज कुमार पासवान रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलिले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बिए २२ जे ५३३३ नम्बरको कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कारको पछाडीको सिटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाही अघि बढाइएको छ ।