स्वास्थ्य बिमाको कभरेज बढाउन र बिमितको सेवासुविधामा प्रभावकारिता ल्याउन मुख्यमन्त्री सिंहको निर्देशन


eShilalekh

३ पुष २०८१, बुधबार १३:५७

जनकपुरः मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशमा स्वास्थ्य बिमाको कभरेज बढाउन र बिमितको सेवासुविधामा प्रभावकारिता ल्याउन स्वास्थ्य अधिकारीलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा मंगलबार आयोजित बैठकमा मुख्यमन्त्री सिंहले प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीलाई निर्देशन दिए ।

अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा स्वास्थ्य बिमा गराउनेको संख्या कम रहेको भन्दै त्यसमा वृद्धि गर्न बिमित हुने प्रक्रियामा सरलीकरण, जनचेतना प्रसार, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति परिचालन, व्यावसायिक बिमा एजेन्टको व्यवस्थापन आदि कार्य तत्पर्तापूर्वक बढाउन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिंहले बिमाबापतको रकम अस्पतालले नपाउने, बिमितको शल्यक्रिया लगायत उपचार कार्यमा अस्पतालले ढिलाइ गरिदिने, इच्छाएका वेला बिमा दर्ता नहुने र निश्चित समयावधिभित्र बिमा सक्रिय नहुने लगायत समस्याका बारेमा सम्बद्ध पक्षसँग छलफल गरी समाधान गर्न समेत अधिकारीहरूलाई निर्देशन दिए ।

उनले प्रदेशका कर्मचारी तथा तिनका परिवारलाई स्वास्थ्य बिमाको परिधिमा अनिवार्य ल्याउनुपर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना कर्मचारीका लागि स्वास्थ्य बिमा कार्यक्रममा अनिवार्य आबद्धताको निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्