वीरगञ्ज भन्सार कार्यालयद्वारा पुस १ गतेदेखि थप दुई घण्टा सेवा विस्तार
सिमराः वीरगञ्जका दुवै भन्सार कार्यालय पुस १ गतेदेखि दैनिक थप दुई घण्टा सेवा विस्तार गरेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले पुस १ गतेदेखि वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रुको जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय गरेको हो ।
पर्साका प्रजिअ अर्यालले भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दुई घण्टा थप सेवा विस्तार गर्न लागिएको जानकारी दिए । भन्सार जाँचपासको प्रक्रिया बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म हुँदै आइरहेको थियो । यसले भन्सार जाँचपास गर्ने व्यवसायी र यात्रुलाई मर्का परेको गुनासो आएको उनले बताए । व्यापार सहजीकरणको बैठकले बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म भन्सारको सेवा विस्तारित गर्ने निर्णय गरेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले थप दुई घण्टा विस्तारित समयमा बैंक, क्वारेन्टाइनलगायत सबै सेवा थप हुने जानकारी दिए ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले भन्सारको सेवा थप भएसँगै भन्सार जाँचपास गर्ने व्यापारी तथा व्यवसायीलाई सहज हुने बताए ।