जीतपुरसिमरा २२ बाट ९७ किलो गाँजासहित दुई पक्राउ
सिमराः प्रहरीले ९७ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुलदेखि पूर्वतर्फको डाँडामा रहेको झाडीमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको हो ।
सो क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ भने गाँजा ओसारपसारमा प्रयोग भएको बा११च ७०१२ नम्बरको कार समेत बरामद गरेको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका २ गडौलीका ३५ वर्षीय विष्णु लामा र भरतपुर महानगरपालिका २४ का ४६ वर्षीय टेकबहादुर गुरुङ रहेका छन् ।
सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैलाई हिरासतमा राखी कानुनी प्रक्रिया अघि बढाईएको बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिएका छन् ।