माईती नेपाल पर्साद्वारा २६५ जनाको उद्धार
सिमराः माइती नेपाल, पर्साले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै विगत २७ वर्षदेखि चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय अभियान चलाइरहेको जानकारी दिएको छ । माइती नेपाल पर्साका सुपरभाइजर गोमा पौडेलका अनुसार, २०२४ मा २६५ जनाको उद्धार गरिएको छ । एक सय ३२ महिलालाई नेपाल फर्काइएको छ ।
२०२४ को तथ्यांक अनुसार, उद्धार गरिएका व्यक्तिहरूमध्ये १८ वर्षमुनिका १२७ जना र १९ वर्षमाथिका १२८ जना रहेका छन् । यस वर्ष मधेस प्रदेशमा उच्च जोखिममा रहेका ४५ महिलाको उद्धार गरिएको छ । अन्य प्रदेशहरूमा बाग्मतीबाट ४२, सुदूरपश्चिमबाट १२, गण्डकी र लुम्बिनीबाट ९/९, कोशीबाट ५ र कर्णालीबाट २ जना उद्धार भएका छन् ।
विशेष उद्धार घटनामा प्रेम सम्बन्धका कारण भागेका २९, अज्ञात गन्तव्यतर्फ लागेका २९, सामान खरिदको बहानामा १४, कामको बहानामा १७, र औषधि उपचारको बहानामा २ जना समावेश छन् ।
कार्यालयले सन् २०२३ मा भारतका विभिन्न राज्यबाट १८ जना बालबालिका तथा महिलाको उद्धार गरेको जनाएको छ ।