‘चुरियामाई सुरुङ’ सोमबारबाट सर्वसाधारणका लागि खुला गरिने


eShilalekh

७ पुष २०८१, आईतवार १६:५६

सिमराः ‘चुरियामाई सुरुङ’ को पुर्ननिर्माण कार्य सकिएको आठ महिनापछि सोमबारबाट सर्वसाधारणका लागि खुला गरिँदै छ । हेटौँडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिरसंगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि सोमबार हस्तान्तरण गर्ने भएको छ ।

सुरुङ संचालनका लागि नगरपालिकाले कार्यविधि बनाएको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निशुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाका अनुसार हस्तान्तरण भएपछि ‘चुरियामाई सुरुङ’ अवलोकनका लागि खुला गरिने छ ।

ऐतिहासिक सुरुङ खुला गर्न सकेमा अवलोकनका लागि आन्तरिक एव बाह्य पर्यटकहरु आउने चुरियामाई संरक्षण समितिका अध्यक्ष प्रेम भोम्जनले बताए ।

मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको हो ।

एक सय ७ वर्षअघि निर्माण गरिएको उक्त सुरुङको छेउमै सुरुङका डिजाईनर ईन्जिनियर थापाको अर्धकदको सालिक निर्माण गरिएको छ । इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए ।

बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसंग जोड्ने सडक निर्माण गर्ने बेला यो सुरुङ निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्