अघोषित लोडसेडिङ गरिएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघद्धारा असन्तुष्टी


eShilalekh

८ पुष २०८१, सोमबार १५:४४

सिमराः वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज–पथलैया औद्योगिक करिडोरका औद्योगिक प्रतिष्ठानमा नेपाल विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ र बिना सूचना विद्युत कटौती गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

संघका अध्यक्ष अनिल अग्रवालले विज्ञप्ति जारी गर्दै औद्योगिक प्रतिष्ठानको अक्सिजनकै रुपमा रहेको विद्युत नियमित आपूर्ति नहुँदा उद्योगहरु संचालनमा समस्या भएको जनाउँदै विज्ञप्तिमार्फत असन्तुष्टी जनाएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले घोषणा गरेको ‘लोडसेडिङमुक्त औद्योगिक क्षेत्र’ तथा ‘उज्यालो नेपाल’ को नाराबाट उत्साहित भएका उद्योगी, व्यवसायी तथा सर्वसाधारण नेपालीहरु हालका दिनहरुमा बढ्दो विद्युत् कटौती, गुणस्तरीय विद्युत् आपूर्तिको अभावको कारण उद्योगहरुको उपकरण र कच्चा पदार्थ बिग्रनुका साथै उत्पादन प्रक्रियामा समेत नकारात्मक असर परिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी साना उद्योगहरुले विद्युत् कटौतीको बेला डिजी सञ्चालन गर्न सक्ने अवस्था नभएकोले उद्योगनै बन्द राख्नुपर्ने अवस्था रहेको अग्रवालले जनाएका छन् ।

करिडोरमा रहेका औद्योगिक फिडरमा २४ घण्टामा १४/१५ पटकसम्म ट्रिपिङ भइरहेको कारण औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चा पदार्थहरु नोक्सान भइरहेको अध्यक्ष अग्रवालले बताए । उनले समस्याको समाधानका लागि लोडसेडिङको निश्चित समयावधि नै तोकी बाँकी समयमा गुणस्तरिय विद्युत् आपूर्ति गर्नुपर्ने संघको धारणा रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्