चुरियामाई सुरुङमार्ग पर्यटकका लागि खुल्ला, ५० रुपैयाँ तिरेर घुम्न सकिने
सिमराः बारा र मकवानपुरको सिमानामा रहेको चुरियामाई सुरुङमार्ग जीर्णोद्धारपछि पर्यटकका लागि खुल्ला गरिएको छ । जीर्ण भएपछि बन्द गरिएको सुरुङमार्ग जीर्णोद्धार गरिएसंगै खुल्ला गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले सोमबार संयुक्तरुपमा जीर्णोद्धार गरिएको सुरुङमार्गको उद्घाटन गरेका थिए ।
पूर्व मुख्यमन्त्री पौडेलको कार्यकालमा उक्त सुरुङमार्गको जीर्णोद्धारको काम सुरु भएको थियो । सुरुङमार्ग जीर्णोद्धारका लागि बागमती प्रदेश सरकारले २०७८ बैशाख १९ गते माउन्टेनइन्फ्रा कम्पनी लिमिटेडसंग सम्झौता गरेको र सम्झौता अनुरुप माउन्टेनइन्फ्राले २०८० असोजमा नै जीर्णोद्धारको काम सम्पन्न गरेको थियो ।
जीर्णोद्धारको काम सम्पन्न भएपनि संचालनको कार्यविधि नबनेका कारण एक वर्ष ढिला गरी सुरुङमार्ग उद्घाटन गरिएको हो ।हेटौंडा उपमहानगरपालिकाले उक्त सुरुङमार्ग संचालन गर्ने कार्यविधि तयार गरेको हो । उपमहानगरपालिकाले अब सुरुङको संचालन तथा व्यवस्थापन गर्नेछ ।
तीन करोड ६५ लाख खर्चिएर जीर्णोद्धार गरेको प्रदेश सरकारले उक्त सुरुङमार्ग हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण पनि गरेको छ । मुख्यमन्त्री लामा, भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले उपमहानगरपालिकाकी नगर प्रमुख मिना लामालाई सुरुङमार्ग हस्तान्तरण गरेका हुन् ।
करिब दुई सय २५ मिटर लम्बाई, २.५ मिटर चौडाइ र तीन मिटर उचाइ रहेको सुरुङमार्ग अवलोकनका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । बिदेशी पर्यटकले भने एक सय २० रुपैयाँ तिरेर सुरुङमार्ग अवलोकन गर्न सक्नेछन् । यसैगरी विद्यार्थीका लागि २० रुपैयाँ तोकिएको छ भने पाँच वर्ष मूनिका बालबालिका, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकले निःशुल्क सुरुङमार्ग अवलोकन गर्न पाउनेछन् ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण भएको थियो । सुरुङमार्ग उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल समेत उपस्थित थिए ।