मधेशी युवालाई लक्षित गर्दै कुटपिट गरेको विरोधमा जनकपुरधाममा गृहमन्त्रीको पुतला दहन
सिमराः काठमाडौंको कीर्तिपुर मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को खेल सकिएपछि मधेशी युवाहरुलाई लक्षित गर्दै कुटपिट गरेको विरोधमा जनकपुरधाममा गृहमन्त्रीको पुतला दहन गरिएको छ ।
एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्ट्स समर्थक मधेशी समुदायलाई लक्षित गरी केही युवाले अपमानजनक शब्द प्रयोग गर्दै कुटपिट समेत गरेको घटनाप्रति राज्य गम्भीर नभएको भन्दै जनकपुरधाममा युवाहरुले गृहमन्त्री रमेश लेखकको पुतला जलाएका हुन् ।
स्थानीय भानुचोकमा आयोजित विरोध प्रदर्शन कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध नेता कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । गत शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेल सकिएपछि हुलदंगा गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका घर भएका २१ वर्षीय अशोक साउद र दिपायल सिलगढी नगरपालिका घर भएका १८ वर्षीय गणेश साउद छन् ।