एकदिनमै फर्किए मुख्यमन्त्री कार्यालयका सहसचिव
सिमराः मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा आएका सहसचिव दामोदर गौतम राजीनामा पत्र बुझाएर काठमाडौं फर्किएका छन् ।
गत पुस ४ गते मुख्यमन्त्री कार्यालयमा आएका सहसचिव गौतम भोलिपल्ट पुस ५ गते प्रमुख सचिव लोकनाथ पौडेललाई राजीनामा पत्र बुझाउँदै फर्किएका हुन् । सो पत्रमा प्रमुख सचिव पौडेलले तोकसमेत लगाइदिएका छन् ।
उनको राजीनामा सरकारले स्वीकृत भने गरिसकेको छैन । सहसचिवको नियुक्ति, सरुवा, बढुवा र राजीनामाको निर्णय केन्द्र सरकारको मन्त्रिपरिषदले गर्ने व्यवस्था छ ।
गत आइतबार बसेको मधेश मन्त्रिपरिषद बैठकले सहसचिव गौतमको पदस्थापन मधेश प्रदेश लोक सेवा आयोग कार्यालय सचिवको रुपमा गरेको छ । तर गौतम पदस्थापन भएको लोक सेवा आयोग कार्यालयमा पनि हाजिर भएका छैनन् ।
सहसचिव गौतमले प्रमुख सचिव पौडेललाई सम्बोधन गरेको हस्तलिखित राजीनामा पत्रमा स्वास्थ्य प्रतिकुलताको कारण काम गर्न असमर्थ रहेको व्यहोरा उल्लेख छ ।