धनुषामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
सिमराः धनुषामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखिया बिनले आफ्नै श्रीमती रेशमी देवी बिनको हत्या गरेका हुन् ।
बिनको शव बुधबार साँझ ७ बजे आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए ।
प्रहरी निरीक्षक साहका अनुसार घरायसी विवादका कारण दशैयाले पत्नीको हत्या गरेको स्वीकार गरेका छन् । श्रीमानकै बयान अनुसार श्रीमती रेशमीको शव गाडेको अवस्थामा फेला परेको हो ।
मृतक रेशमीकी बुहारीले प्रहरीलाई दिएको बयान अनुसार दिउँसो १२ बजेसम्म सासु–ससुराबीच वादविवाद भइरहेको थियो । साँझ दशैयाले बुहारीसँग खाना मागेका थिए । खाना खाने समयमा सासु नआएपछि उनको खोजतलास सुरु भएको थियो । दशैयाको शंकास्पद प्रतिक्रियापछि परिवारका सदस्यले प्रहरीलाई बोलाएका थिए ।
प्रहरीले सोधपुछ गरेपछि हत्या गरेर शव शौचालयको पछाडि गाडेको दशैयाले बताएका थिए । राति नै ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी निरीक्षक साहको नेतृत्वमा पुगेको टोलीले शव उत्खनन गरी शल्यपरिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ ।
दशैयालाई प्रहरीले पक्राउ गरेको छ । राति मदिराको नशामा रहेकाले आज दशैयासँग बयान लिइने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।