रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ, आइतबार सार्वजनिक गरिदै


eShilalekh

१३ पुष २०८१, शनिबार १२:२८

सिमराः बाराको सिमरा विमानस्थलमा कार्यरत नेपाल प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

एक साताको अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिले घटनामा आफ्नो संलग्नता रहेको बयान दिएको प्रहरीको भनाई छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । अनुसन्धान अन्तिम चरणमा रहेकाले उनिहरुको नाम प्रहरीले गोप्य राखेको छ । पक्राउ परेकामध्ये एक जनाको कोठाबाट रुम्बाको पर्स र सिक्री फेला परेको बताइएको छ । पक्राउ परेका व्यक्तिलाई आइतबार सार्वजनिक गर्ने तयारी रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरिञ्जिवी दाहालले जानकारी दिए ।

जीतपुरसिमरा १७ घर भएका रुम्बा सिमरा विमानस्थलमा सुरक्षागार्डका रुपमा कार्यरत थिए । उनको शव पुष ७ गते बिहान जीतपुरसिमरा उपमहानगरपालिका ११ स्थित आमाडारको पुलनजिक कारभित्र फेला परेको थियो ।

कारको चालक बस्ने सिटमा मृत भेटिएका रुम्बालाई गोली हानेर हत्या गरिएको पुष्टि भईसकेको छ । उनको टाउकोमा गोली लागेको शल्यपरिक्षण रिपोर्टमा देखिएको छ ।

सिमरा विमानस्थलबाट शनिबार राती राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको बागमती प्रदेश ०१–०२८च ७६१६ नम्बरको कार लिएर निस्किएका थिए । घटनालगत्तै प्रहरीले अनुसन्धान अधिकृत तिवारीसंग समेत सोधपुछ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्