चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको खर्च विवरण सार्वजनिक
सिमराः गत असोजमा आयोजित चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । सिमरा भेट्रान क्लबले सिमरास्थित क्लबको सचिवालयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै खर्च विवरण सार्वजनिक गरेको हो ।
क्लबका सचिव हरि चौधरीका अनुसार प्रतियोगितामा १५ लाख ६५ हजार रुपैयाँ खर्च भएको छ भने एक हजार सात सय ५० रुपैयाँ बचत भएको छ । प्रतियोगिता संचालनका लागि विभिन्न दाताबाट १५ लाख ६६ हजार सात सय ५० रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
सचिव चौधरीले स्थानीय सरकारको रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिका, विभिन्न वडा कार्यालय र औद्यागिक प्रतिष्ठानबाट आउनुपर्ने सहयोग अझै प्राप्त नभएको बताए । उक्त सहयोग रकम प्राप्त भएमा क्लबले मुनाफा आर्जन गर्ने र त्यसलाई बचतका रुपमा राखिने चौधरीले बताए ।
क्लबका अध्यक्ष बिजय राउतले देशविदेशका १४ टिमले सहभागिता जनाएको प्रतियोगिता संचालन गर्न चुनौतीपूर्ण रहेको बताउँदै प्रतियोगिता आयोजनाका निम्ति सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले प्रतियोगितालाई निरन्तरता दिँदै जाने समेत बताए ।
पत्रकार सम्मेलनमा क्लबका विनोद परियार, रमेश शर्मा, समिर आलेलगायतको उपस्थिती रहेको थियो । आयोजकले उपाधी जितेको उक्त प्रतियोगिता असोज १ देखि ५ गतेसम्म सिमरा रंगशालामा आयोजना भएको थियो ।