‘सिमकार्ड दाँतले टुक्राएर खोलामा फाले, मोबाइल हरपुरमा लगेर जलाए’


eShilalekh

१५ पुष २०८१, सोमबार ०९:३२

सिमराः नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको रहस्यमय हत्या प्रकरणमा अनुसन्धानबाट खुलेका केही तथ्य प्रहरीले आइतबार सार्वजनिक गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनासहित प्रहरीले घटना विवरण सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार रुम्बाको हत्यामा दुई जनाको प्रत्यक्ष संलग्नता देखिएको छ । उनिहरु हुन् बारा जीतपुरसिमरा उपमहानगरपालिका १९ घर भई हाल वडा नं. १ मा वर्कशप चलाउँदै आएका २७ वर्षीय पुरुषोत्तम दास र सोही ठाउँका २० वर्षीय ईन्द्रजीत चौहान । पक्राउ परेका अर्का एक जना भने राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी छन् ।

तिवारी पीडित परिवारको किटानी जाहेरीका आधारमा पक्राउ परेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काको भनाई छ । गोली हानेर मारिएका रुम्बाको शव तिवारीकै निजी कारभित्र फेला परेको थियो । बागमती प्र.०१–०२८च ७६१६ नम्बरको उक्त कार पुष ६ गते बिहान जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ आमाडारस्थित दुधौरा खोला नजिकको सडक छेउमा भेटिएको थियो ।

रुम्बाको शव तिवारीकै कारमा फेला परेपछि अनुसन्धानको दायरामा उनलाई पनि ल्याउनुपर्ने माग पीडित परिवारले गर्दै आएका थिए । एक साताको अनुसन्धानपछि प्रहरीले सार्वजनिक गरेको विवरणमा तिवारी भने दोषी देखिएका छैनन् । तर पक्राउ परेका तीनै जनालाई बारा जिल्ला अदालतले एक साता थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणमा रुम्बाको हत्या गर्ने योजना एक महिनाअघि नै बनेको देखिएको छ । प्रहरी अनुसन्धानबाट पक्राउ परेकामध्ये दासले रुम्बाको हत्या योजना बनाएको खुलेको छ । रुम्बा र दासबीच डेढ महिना अगाडी वादविवाद भएको थियो । उक्त वादविवादपछि आफूले रुम्बालाई मार्ने योजना बनाएको बयान दासले प्रहरीलाई दिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

‘करिब डेढ महिना अगाडि रुम्बा र दासबीच वादविवाद भएको रहेछ । त्यही वादविवाद नै हत्याको कारण भएको हालसम्मको अनुसन्धानबाट खुलेको छ’ प्रहरी उपरीक्षक खड्काले भने ‘त्यसबाहेकका अन्य कारण थप अनुसन्धानबाट खुल्न सक्छ ।’
जीतपुरसिमरा १ स्थित हुलासमा जय माँ ईन्जिनियरिङ वर्कशप संचालन गर्दै आएका दासले रुम्बाको हत्या गर्न एक महिनाअघि भारतको मोतिहारीबाट १८ हजार नेपाली रुपैयामा पेस्तोल ल्याएका थिए । करिब डेढ महिनाअघिको वादविवादपछि रुम्बा र दासबीच बोलचाल थिएन ।

जीतपुरसिमरा उपमहानगरपालिका १७ घर भएका रुम्बा जीतपुरसिमरा १ मा पनि बस्दै आएका थिए । उनको दुई श्रीमती, एक छोरी र दुई छोरा छन् । घटनाको रात रुम्बा जीतपुरसिमरा १ स्थित घर पुगिसकेका थिए । उनलाई दाससंगै पक्राउ परेका चौहानले राती ९ बजेपछि फोन गरेर बोलाए । जरुरी कामले कलैया जानुपर्ने भन्दै चौहानले दुई हजार भाडा तिर्ने सर्तमा कार ल्याउन आग्रह गरे । रुम्बाले अनुसन्धान अधिकृत तिवारीको कार यसअघि पनि भाडामा लैजाने गरेको खुलेको छ ।

चौहानको फोन सुरुमा रुम्बाका छोराले उठाए । चौहानले रुम्बालाई फोन दिन पटकपटक आग्रह गरे । लगातार फोन आएपछि घर पुगिसकेका रुम्बा कार लिएर आउन राजी भए । ‘सरले बोलाउनु भएको छ । कलैया गएर एक घण्टामै फर्कन्छु’ भन्दै रुम्बा घरबाट निस्किए । रुम्बा सिमरा विमानस्थल भित्र रहेको प्रहरी कार्यालयको सहयोगी पदमा कार्यरत थिए भने अनुसन्धान अधिकृत तिवारी विमानस्थल भित्रकै प्रहरी कार्यालयमा बस्ने गरेका थिए । रुम्बा र तिवारीबीच राम्रो सम्बन्ध थियो ।

रुम्बाले कारको साँचो माग्न आएपछि आफूले दिएर पठाएको बयान तिवारीले प्रहरीलाई दिएका छन् । रुम्बा कार लिएर चौहानले दिएको ‘लोकेशन’ अर्थात जीतपुर पुगे । जीतपुरस्थित रातोपुलबाट चौहान गाडीमा चढे । दास पुलभन्दा अगाडि पैदल हिडिरहेका थिए ।

रातोपुलबाट गाडी अगाडि बढिसकेपछि चौहानले पैदल हिडिरहेका दासलाई पनि लैजान रुम्बासंग आग्रह गरे । रुम्बाले आफ्नो बोलचाल नभएको बताउँदै कारमा राख्न भने अनुमति दिए । पूर्वयोजना अनुसार दास पनि गाडिमा चढे । उनिहरु जीतपुरबाट बकुलिया हुँदै आमाडारतर्फ लागे । एकान्त ठाउँमा पुगेपछि चौहानले आफूलाई पिसाब लागेको भन्दै गाडी रोक्न आग्रह गरे । रुम्बाले गाडी रोकेपछि चौहान गाडीबाट ओर्लिए । त्यहीबेला कारको पछाडि सिटमा बसेका दासले रुम्बाको टाउकोमा गोली प्रहार गरे ।

गोली हानेलगत्तै रुम्बाले घाँटीमा लगाएको सिक्री र पर्स लिएर दास र चौहान फरार भए । घटनापछि दासले मोबाइलको सिम झिकेर दाँतले टुक्रा पारेर दुधौरा खोलामा फालिदिए । उक्त सिमबाट रुम्बालाई बाहेक अन्यलाई फोन नगरेको समेत अनुसन्धानमा खुलेको छ । घटनापछि उनिहरु खोलाको बाटो भाग्न थाले । भाग्ने क्रममा उनिहरुले बोकेको पेस्तोल खस्न पुग्यो । पेस्तोल खोज्न फर्किदा मोटरसाइकल आएको देखेपछि उनिहरु त्यहाँबाट भागे ।

घटनापछि दासले मोबाइल हरपुरमा लगेर जलाए । घटनाको प्रमाण नष्ट गरेर दास पुनः काममा फर्किए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले पुष ११ गते दासलाई जीतपुरसिमरास्थित एक बैंकमा चेक साटन गएका बेला पक्राउ गर्यो । दासको खल्तीबाट रुम्बाले लगाएको सिक्री फेला परेको प्रहरीको भनाई छ ।

दासको वर्कशपस्थित कोठामा रहेको ब्यागबाट रुम्बाको पर्स फेला परेको प्रहरी उपरीक्षक खड्काले बताएका छन् । दासको कोठा खानतलासी गर्न जाँदा स्थानीय जनप्रतिनिधिलाई नबोलाएको र नियोजितरुपमा फसाउन खोजिएको आरोप समेत प्रहरीलाई लागेको थियो ।

प्रहरीले भने आफूहरुले कसैलाई फसाउन नखोजेको र घटनाको अनुसन्धान गर्दै जाने क्रममा दासको संलग्नता देखिएको बताएको छ । दास पक्राउ परेपछि उनकै बयानका आधारमा चौहान पक्राउ परेका थिए । दुवैले घटनामा संलग्नता रहको बयान दिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्