रौतहट प्रहरीद्वारा घरमा सुरुङमार्ग बनाएर चोरी गर्ने चार जना पक्राउ


eShilalekh

१८ पुष २०८१, बिहीबार १८:४४

सिमराः रौतहटको पेटभर्वा गाउँमा बुधवार राति घरमा सुरुङमार्ग बनाएर चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थायी ठेगाना नखुलेका ६५ वर्षीय रामायण नट, ६० वर्षीय लक्ष्मण नट, ३५ वर्षीय मनोज नट र ३४ वर्षीय सुनिल नट रहेका छन् ।

फतुवा विजयपुर ६ पेटभर्वा गाउँका अच्छेलाल साहको घरमा राति करिब १२ बजे चोरले सुरुङ खनेर घरभित्र रहेको पाँच वटा मोबाइल, गरगहना र नगद दुई लाख चोरी गरेका थिए । स्थानीयका अनुसार गाउँका युवाहरूले चोरी भएको मोबाइलको लोकेसन पत्ता लगाई खोजतलास गरेका थिए । खोजतलास गर्ने क्रममा फतुवा गाउँको मठछेउमा चारजनालाई स्थानियले नियन्त्रणमा लिएका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका चोरहरू कलैया क्षेत्रका हुन् । उनीहरु गुजारा टार्न माग्दै हिँडिरहेका थिए । चोरी गरिएको मोबाइल, नगद र गरगहना सम्बन्धित व्यक्तिलाई बुझाईएको ईलाका प्रहरी कार्यालय विजयपुरका सई ज्ञानेन्द्र कुमार ढकालले बताएका छन् ।

पक्राउ परेका चोरहरूलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्