बारा मुद्रण संघको भेला सम्पन्न, गुप्ताको अध्यक्षतामा तदर्थ समिति चयन


eShilalekh

२० पुष २०८१, शनिबार १७:२१

सिमरा: नेपाल मुद्रण उद्योग महासंघ अन्तर्गतको बारा जिल्ला मुद्रण उद्योग संघको प्रथम जिल्ला भेला शनिबार कलैयामा सम्पन्न भएको छ ।  होटल करणराज प्यालेसमा सम्पन्न भेलाले गढीमाई प्रेस कलैयाका संचालक मुकेश गुप्ताको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा साहारा प्रेस कोल्हवीका संचालक धर्मेन्द्र साह, सचिवमा सिम्बारा प्रेस सिमराका संचालक नवराज न्यौपाने, कोषाध्यक्षमा राजदेवी प्रेसका संचालक अच्छेलाल साह रहेका छन् । यसैगरी समितिको सदस्यमा आरडी प्रेस सिमरा संचालकका राजु गौतम, विनोद प्रेस सिम्रौनगढका विनोद कुशवाहा, आकाश प्रेस बरियारपुरका रामपुकार बरै चयन भएको नवनिर्वाचित सचिव न्यौपानेले ईशिलालेखलाई जानकारी दिए ।

भूमिका प्रेस कलैयाका संचालक राजेशमान डंगोलको अध्यक्षतामा सम्पन्न भेलाको उद्घाटन नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपालप्रसाद ढकालले गरेका थिए ।  भेलामा केन्द्रीय प्रतिनिधि महासंघका प्रथम उपाध्यक्ष तथा संगठन विभाग प्रमुख राजकुमार घिमिरे, सहसचिव खिलप्रसाद लुईटेल, निवर्तमान कोषाध्यक्ष सुदिप न्यौपाने, काठमाडौं मुद्रण संघका निवर्तमान अध्यक्ष जिएन श्रेष्ठ, अध्यक्ष दुर्गाप्रसाद ढकाल र नेपाल कमर्सियल आर्टिष्ट संघ बाराका अध्यक्ष भोला साहको उपस्थिति रहेको थियो ।

भेलामा बारा जिल्ला भित्र संचालनमा रहेकामध्ये करिव २० जना छापाखाना संचालकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सिम्बारा प्रेसका संचालक न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्