प्रगतिशील सामुदायिक वन समूह औराहको २७औं वार्षिक साधारणसभा सम्पन्न


eShilalekh

२० पुष २०८१, शनिबार १७:५२

सिमरा: प्रगतिशील सामुदायिक वन उपभोक्ता समूह औराहको २७औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित संस्थाको कार्यालय परिसरमा सम्पन्न साधारणसभाको उद्घाटन बारा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले गरेका थिए ।

साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूले पहल गर्ने बताए । जीतपुरसिमरामा आउने आन्तरिक पर्यटकको रोजाईमा रहेको औराहको देवाश्रम पार्क निर्माणका लागि सहयोग गर्न आफू प्रतिवद्ध रहेको सांसद श्रेष्ठको भनाई थियो । सांसद श्रेष्ठले प्रगतीशिल सामुदायिक वन उपभोक्ता समूहको सदस्यता पाउन आवश्यक प्रक्रिया पूरा गरेर आफू पनि सदस्य बन्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सभाका पूर्व सांसद सुन्दर विकले प्रतिनिधिमुलक सदस्यता चयनमा ध्यान दिन समितिलाई सुझाव दिए । कार्यक्रममा जीतपुरसिमरा ४ का वडाध्यक्ष भोजबहादुर खत्री, नेपाली कांग्रेसका रमेश पण्डित, समितिका पूर्वअध्यक्ष रमेश खरेल, घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाका सचिव त्रिलोक बिक्रम शाहलगायतले सम्बोधन गरेका थिए ।

संस्थाका अध्यक्ष कुमार त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका सचिव डम्बर खड्काले गरेका थिए । अधिवेशन सहितको साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्