जय ट्रफी एलिट कपः मधेश प्रदेशले बनायो एक सय रन
जनकपुरः जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुरमा भईरहेको खेलमा मधेश प्रदेशले बागमतीविरुद्ध आठ विकेट गुमाएर एक सय रन जोडेको छ । रामजानकी मल्टिपर्पोज रंगशालामा टस जितेर ब्याटिङ गरिरहेको मधेशले ३३.४ ओभरमा आठ विकेट गुमाएर एक सय रन जोडेको हो ।
एक सय रन बनाएलगत्तै मधेशले प्रदीप पासवानलाई नवौं विकेटको रुपमा गुमाएको छ । मधेश अहिले ३४.३ ओभरमा नौ विकेट गुमाउँदै एक सय रनको स्थितिमा छ । मधेशका अभिषेक तिवारी १० र रंजीत कुमार शून्यमा खेलिरहेका छन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमतीविरुद्ध मधेश प्रदेश दवावमा देखियो । १५ रनको स्थितीमै कप्तान हरिशंकर साहलाई गुमाएको मधेशको लगातार विकेट पतन भएको थियो ।
मधेशका मयन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, हिमांशु दत्तले १० रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् । बागमतीका कप्तान लामिछानेले चार, सूर्य तामाङले दुई र प्रतिश जिसिले एक विकेट लिए ।