जय ट्रफी एलिट कपः पुलिसका दुवै ओपनर शून्यमा आउट, २५ रनमै गुमायो चार विकेट


eShilalekh

२१ पुष २०८१, आईतवार १५:५७

वीरगन्जः जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा भईरहेको खेलमा नेपाल आर्मी क्लबविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले २५ रनमै चार विकेट गुमाएको छ ।

नारायणी क्रिकेट रंगशालामा जारी खेलमा पुलिसका ओपनर कुशल भुर्तेल र अर्जुन साउद शून्य रनमै आउट भए । कुशललाई सोमपाल कामी र अर्जुनलाई साहब आलमले निराश पारेका थिए । आलमले पुलिसका अमृत श्रेष्ठ र कप्तान आरिफ शेखलाई आउट गरेका छन् ।

पुलिसले यो समाचार तयार पार्दा ९.२ ओभरमा चार विकेट गुमाउँदै ४१ रन जोडेको छ । पुलिसका दिपिल नाथ सात र रसिद खान १० रन बनाएर खेलिरहेका छन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले ३४.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रन जोडेको थियो । आर्मीलाई कम स्कोरमै रोक्ने क्रममा पुलिस क्लबका ललित राजवंशीले आकर्षक बलिङ गरे । ललितले १४.४ ओभर बलिङ गर्दै आर्मी दुवै ओपनरसहित सात विकेट लिए ।

ललितले ओपनर सन्तोष कार्कीलाई एक सोमपाल कामीलाई पाँच, त्रितराज दासलाई शून्य, बशिर अहमदलाई १२, विवेक यादवलाई शून्य, साहब आलमलाई ११ र आकाश चन्दलाई शून्यमा आउट गरेका थिए । पुलिसका कुशल भुर्तेल, सरवन यादव र रसिद खाले एक/एक विकेट लिए ।

आर्मीका कुशल मल्लले २५, भिम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बशिर अहमदले १२, साहब आलमले ११ र पवन कार्कीले अविजित १५ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्