जय ट्रफी एलिट कपः उस्तै लयमा पुलिस र आर्मी
वीरगन्जः जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत नारायणी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबबीचको पहिलो दिनको खेल सकिएको छ । पहिलो दिनको खेल समाप्ति हुँदा पुलिस आर्मीभन्दा १८ रनले पछाडि छ ।
पुलिसले २३.४ ओभरमा सात विकेट गुमाउँदै एक सय दुई रन जोडेको छ । पुलिसका गुल्शन झा सर्वाधिक ३३ रन र प्रेम तामाङ १ रनमा अविजित छन् । पुलिसका लागि अमृत श्रेष्ठ १८, रसिद खान १६, शंकर राना १३ र दिलिप नाथ १० रनमा पेभेलियन फर्किएका थिए । ओपनरद्वय कुशल भुर्तेल र अर्जुन साउद शून्यमै आउट हुँदा पुलिस दवावमा परेको थियो ।
कुशललाई सोमपाल कामी र अर्जुनलाई साहब आलमले निराश पारेका थिए । आलमले पाँच विकेट हात पारिसकेका छन् । उनले अमृत श्रेष्ठ, कप्तान आरिफ शेख, दिलिप नाथ र शंकरलाई आउट गरेका थिए । आर्मीका पवन कार्की र सोमपाल कामीले समान एक/एक विकेट लिएका छन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले ३४.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रन जोडेको थियो । आर्मीलाई कम स्कोरमै रोक्ने क्रममा पुलिस क्लबका ललित राजवंशीले आकर्षक बलिङ गरेका थिए । ललितले १४.४ ओभर बलिङ गर्दै आर्मी दुवै ओपनरसहित सात विकेट लिए ।
ललितले ओपनर सन्तोष कार्कीलाई एक, सोमपाल कामीलाई पाँच, त्रितराज दासलाई शून्य, बशिर अहमदलाई १२, विवेक यादवलाई शून्य, साहब आलमलाई ११ र आकाश चन्दलाई शून्यमा आउट गरेका थिए । पुलिसका कुशल भुर्तेल, सरवन यादव र रसिद खाले एक/एक विकेट लिएका थिए ।
आर्मीका कुशल मल्लले २५, भिम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बशिर अहमदले १२, साहब आलमले ११ र पवन कार्कीले अविजित १५ रन बनाएका थिए । दोस्रो दिनको खेल सोमबार बिहान ९ बजेपछि सुरु हुनेछ ।
नेपाल क्रिकेट संघको आयोजनामा दुई दिवसीय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितमा मधेश प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबको सहभागिता रहेको छ । वीरगन्ज र जनकपुरमाभईरहेको प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल वीरगन्जमा हुनेछ ।