जय ट्रफी एलिट कपः दोस्रो दिनको खेल सुरु


eShilalekh

२२ पुष २०८१, सोमबार ०९:४३

सिमरा: वीरगन्ज र जनकपुरमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत सोमबार दोस्रो दिनको खेल सुरु भएको छ ।

वीरगन्जको नारायणी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबबीच खेल भइरहेको छ भने जनकपुरको रामजानकी मल्टिपर्पोज रंगशालामा मधेश प्रदेशविरुद्ध  बागमती प्रदेशले ब्याटिङ गरिरहेको छ ।

वीरगन्जमा पहिलो दिनको खेल समाप्ति हुँदा पुलिस १८ रनले पछाडि थियो । यो समाचार तयार पार्दा पुलिस तीन रनले अगाडि छ ।

पुलिसले ३१.३ ओभरमा ९ विकेट गुमाउँदै एक सय २४ रन जोडेको छ । पुलिसका गुल्शन झा अर्धशतक बनाउन तीन रनले चुकेका छन् । उनलाई ४७ रनको स्थितिमा साहब आलमले आउट गरेका छन् ।

पहिलो दिन पुलिसका लागि अमृत श्रेष्ठ १८, रसिद खान १६, शंकर राना १३ र दिलिप नाथ १० रनमा पेभेलियन फर्किएका थिए । ओपनरद्वय कुशल भुर्तेल र अर्जुन साउद शून्यमै आउट हुँदा पुलिस दवावमा परेको थियो ।

कुशललाई सोमपाल कामी र अर्जुनलाई साहब आलमले निराश पारेका थिए । आलमले सात विकेट हात पारिसकेका छन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले ३४.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रन जोडेको थियो । आर्मीलाई कम स्कोरमै रोक्ने क्रममा पुलिस क्लबका ललित राजवंशीले आकर्षक बलिङ गरेका थिए । ललितले १४.४ ओभर बलिङ गर्दै आर्मी दुवै ओपनरसहित सात विकेट लिए ।

ललितले ओपनर सन्तोष कार्कीलाई एक, सोमपाल कामीलाई पाँच, त्रितराज दासलाई शून्य, बशिर अहमदलाई १२, विवेक यादवलाई शून्य, साहब आलमलाई ११ र आकाश चन्दलाई शून्यमा आउट गरेका थिए । पुलिसका कुशल भुर्तेल, सरवन यादव र रसिद खाले एक/एक विकेट लिएका थिए ।

आर्मीका कुशल मल्लले २५, भिम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बशिर अहमदले १२, साहब आलमले ११ र पवन कार्कीले अविजित १५ रन बनाएका थिए । 

उता जनकपुरमा पहिलो दिनको खेल समाप्ति हुँदा मधेशभन्दा ६८ रनले रहेको बागमतीले अहिले ब्याटिङ गरिरहेको छ । बागमतीले अहिले १८.३ ओभरमा सात विकेट गुमाउँदै ६१ रन जोडेको छ । बागमतीका कप्तान सन्दीप लामिछाने र सूर्य तामाङ क्रिजमा छन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको मधेशले ३५.३ ओभरमा सबै विकेट गुमाएर एक सय दुई रन जोडेको थियो । मधेशका मयन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, अभिषेक तिवारीले ११ र हिमांशु दत्तले १० रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

बागमतीका कप्तान लामिछानेले पाँच विकेट लिएका थिए । यसैगरी सूर्य तामाङले तीन, प्रतिश जिसि र नन्दन यादवले एक/एक विकेट लिए ।

नेपाल क्रिकेट संघको आयोजनामा दुई दिवसीय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितमा मधेश प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबको सहभागिता रहेको छ । वीरगन्ज र जनकपुरमा भईरहेको प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल वीरगन्जमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्