जय ट्रफीः मधेशका मयनले बनाए शतक, बागमतीका सन्दीपले लिए १० विकेट


eShilalekh

२२ पुष २०८१, सोमबार २२:४५

जनकपुरः जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुरमा सम्पन्न मधेश प्रदेश र बागमती प्रदेशबीचको खेल पनि नतिजाविहिन भएको छ । रामजानकी मल्टिपर्पोज रंगशालामा भएको दुई टिमबीचको खेल बराबरीमा सकिएको छ ।

पहिलो इनिङमा एक सय दुई रनमा समेटिएको मधेशले दोस्रो इनिङमा दुई सय ११ रन बनाउँदै बागमतीलाई एक सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बागमतीले दुई दिवसीय खेलको दोस्रो इनिङमा ६ विकेट गुमाएर ९७ रन बनायो ।

यसअघि बागमतीले पहिलो इनिङमा एक सय ५० रन बनाएको थियो । पहिलो इनिङमा ४८ रनले अग्रता लिएको बागमतीविरुद्ध मयन यादवको शतक प्रेरित मधेशले दुई सय ११ रन जोड्दै एक सय ६४ रनको लक्ष्य दिएको थियो ।

मधेशका ओपनर मयनले दोस्रो इनिङमा एक सय आठ बलमा एक सय ६ रन बनाए । उनले १२ चौका र दुई छक्का प्रहार गरे । मयन बाहेक मधेशका अन्य ब्याटर चल्न सकेनन् ।

मधेशविरुद्ध दोस्रो इनिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले पहिलो इनिङमा पनि पाँच विकेट लिएका थिए । यो संगै जय ट्रफीको एकै खेलमा १० विकेट लिने खेलाडी बनेका छन् सन्दीप ।

जारी प्रतियोगितामा सन्दीप र नेपाल आर्मी क्लबका साहब आलमले १० विकेट लिएका छन् । सन्दीपले मधेशविरुद्ध र आलमले नेपाल पुलिस क्लबविरुद्ध १० विकेट लिएका हुन् ।

सन्दीप प्लेयर अफ दि म्याच घोषित भएका छन् । बागमतीले अब आर्मी क्लबसंग बुधबार दोस्रो खेल खेल्नेछ । मधेश प्रदेश भने पुलिसविरुद्ध दोस्रो खेल खेल्न वीरगन्ज आउनेछ ।

प्रतिक्रिया दिनुहोस्