भूकम्पको त्रासले कलैयास्थित श्री ३ चन्द्र माविका १० बिद्यार्थी बेहोस, कलैया अस्पतालमा उपचार हुँदै
सिमरा: भूकम्पको त्रासले बाराको कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयका १० छात्रछात्रा बेहोस भएका छन् । कलैया अस्पतालमा उपचाररत उनिहरुको अवस्था सामान्य रहेको छ ।
कक्षाकोठामा पढिरहेका बेला भूकम्पको धक्का मससुस भएपछी बिद्यार्थी अत्तालिएका थिए । कक्षाकोठाबाट अत्तालिदै बाहिर निस्किएकामध्ये १० जना बिद्यार्थी बेहोस भएका हुन् ।
बेहोस भएका बिद्यार्थीलाई तत्कालै कलैया अस्पताल लगिएको थियो । अस्पताल लगिएका विद्यार्थी होसमा आइसकेका छन् । कलैया अस्पतालमा चिकित्सकको निगरानीमा रहेका उनीहरुको अवस्था अहिले सामान्य छ ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले अस्पताल पुगेर बिद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
विद्यालयका प्रध्यानाध्यापक नरेन्द्र गिरीले भूकम्पपछि मंगलबारको पठनपाठन स्थगित गरिएको बताए । बिद्यार्थीहरु त्रासमा रहेको र उनिहरु कक्षाकोठामा जान नमानेपछि पठनपाठन स्थगित गरेर सबैलाई सुरक्षीतरुपमा घर पठाइएको बताए ।