तराईका केही स्थानमा कुहिरो, हल्का वर्षाको सम्भावना
सिमराः नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण देशको पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
विभागका अनुसार आज विहान पश्चिमी तराईका केही स्थानहरूमा कुहिरो लागेको छ । गण्डकी, बागमती, कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । साथै मधेस, लुम्बिनी, कर्णाली प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षा हुने र कोशी, बागमती, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा हल्का हिमपात हुने संभावना रहेको छ ।
आगामी २४ घण्टामा गण्डकी, बागमती, कोशीको पहाडी भु–भाग र मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागमा पनि हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले सबै नागरिकलाई दैनिक जनजीवन, स्वास्थ्य, यातायात र हवाई उडानमा असर नपरोस भनेर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।