कसरी स्थापना भयो जय ट्रफी? पहिलो खेलमा चम्किए यी पाँच खेलाडी


eShilalekh

२३ पुष २०८१, मंगलवार १५:४७

सिमराः वीरगन्ज र जनकपुरमा जारी जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको पहिलो खेल बराबरीमा सकिएको छ । दुई दिवसीय फरम्याटमा आइतबार र सोमबार भएको खेल नतिजाविहिन बन्न पुग्यो ।

प्रतियोगिता अन्तर्गत वीरगन्जको नारायणी रंगशालामा विभागीय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब भिडेका थिए भने जनकपुरको रामजानकी मल्टिपर्पोज रंगशालामा बागमती प्रदेश र मधेश प्रदेशबीच खेल भएको थियो । बराबरीमा सकिएको दुवै खेलको चार वटै टिमले अंक बाडेका छन् ।

बागमती, मधेश र पुलिसले १५ अंक पाउँदा आर्मीले १४ अंक बटुलेको छ । २०८० माघमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शिर्ष चारमा रहेका चार टिमले जय ट्रफी पुरुष एलिट कप खेलिरहेका छन् । प्रधानमन्त्री कपमा समान ९ खेल खेलेर नेपाल पुलिस क्लबले १८, आर्मीले १४, बागमती र मधेशले १२/१२ अंक प्राप्त गरेका थिए । पुलिसले आर्मीलाई ६ विकेटले पराजित गर्दै उक्त प्रधानमन्त्री कपको उपाधि जितेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले संघका संस्थापक जयकुमार नाथ शाहको स्मृतिमा जय ट्रफी प्रतियोगिताको सुरुवात गरेको हो । क्यानको साधारणसभाले नै शाहको सम्झनामा जय ट्रफी स्थापना गर्ने निर्णय गरेको हो । क्यानका सचिव पारस खड्काले जय ट्रफीले खेलाडीको क्षमतालाई विकास गर्ने हुँदा यसलाई निरन्तरता दिदै अघि बढ्ने बताएका छन् ।

पहिलो खेलमा जो चम्किएः

मयन यादव (मधेश प्रदेश)
जय ट्रफीमा पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन् मधेश प्रदेशका मयन यादव । मयनले बागमती प्रदेश विरुद्धको दोस्रो इनिङमा उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे ।

उनले एक सय आठ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै एक सय ६ रन बनाए । मयनको यो खेल जीवनकै पहिलो शतक हो भने कुनै पनि प्रतियोगितामा प्रहार गरेको सर्वाधिक रन पनि हो ।

यु–१९ राष्ट्रिय खेलाडी मयनले मंसिरमा दुबईको शारजाहमा सम्पन्न एसीसी यु–१९ एशिया कप क्रिकेटमा श्रीलंकाविरुद्ध ६२ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । उक्त अर्धशतक उनको दोस्रो उच्च स्कोर हो ।

सर्लाहीका मयन यादव जनकपुर बोल्ट्ससंग आवद्ध थिए । उनले जनकपुर बोल्ट्सबाट एनपीएलको क्वालिफायर र फाइनल खेलेका थिए ।

साहब आलम (नेपाल आर्मी क्लब)

वीरगन्जमा भएको नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबबीचको खेलमा लेफ्ट आर्म स्पिनर साहब आलम एक्लैले १० विकेट लिए । आर्मीका आलमले पहिलो इनिङमा आठ र दोस्रो इनिङमा दुई विकेट लिए । पहिलो इनिङमा १५.१ ओभर बलिङ गर्दै ५९ रन खर्चिएर आलमले आठ विकेट लिएका थिए भने दोस्रो इनिङमा १८ ओभर बलिङ गरेर दुई विकेट लिए ।

आलम उक्त खेलको प्लेयर अफ दि म्याच समेत घोषित भए । आलम नेपाल आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका छन् भने हालै सम्पन्न नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजबाट खेलेका थिए । एनपीएलको सात खेलमा उनले ६ विकेट लिएका थिए ।

सन्दीप लामिछाने (बागमती प्रदेश)

जनकपुरको रामजानकी मल्टीपर्पोज रंगशालामा राष्ट्रिय टिमका मुख्य बलर एवम् बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले १० विकेट हात पारे । मधेश प्रदेशविरुद्ध पहिलो इनिङमा पाँच विकेट लिएका सन्दीपले दोस्रो इनिङमा पनि पाँच विकेट हात पारे ।

प्लेयर अफ दि म्याच घोषित सन्दीपले पहिलो इनिङमा आउट गरेका चार खेलाडीलाई दोस्रो इनिङमा पनि शिकार बनाएका थिए । मधेशका मयन यादव, साहिल पटेल, हिमांशु दत्त र अभिषेक तिवारी दुवै इनिङमा सन्दीपको बलमा आउट भएका थिए । त्यसबाहेक पहिलो इनिङमा निरज यादव र दोस्रो इनिङमा बिशाल पटेल सन्दीपको बलमा आउट हुँदै पेभेलियन फर्किए ।

ललित राजवंशी (नेपाल पुलिस क्लब)

लेफ्ट आर्म स्पिनर ललित राजवंशीले आर्मीविरुद्ध ९ विकेट लिए । पहिलो खेलमा १४.४ ओभर बलिङ गर्दै सात विकेट लिएका ललितले दोस्रो इनिङमा २० ओभर बलिङ गरेर दुई विकेट लिए ।

दोस्रो इनिङ महंगो सावित भएपनि समग्रमा ललितले आकर्षक प्रदर्शन गरे । पहिलो इनिङमा ललितले सात विकेट लिएका कारण आर्मी एक सय २१ रनमै रोकिन पुगेको थियो ।

ललित राष्ट्रिय टिमका स्पिनर हुन् । उनी एनपीएलमा जनकपुर बोल्ट्समा आवद्ध थिए । उनी पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका छन् ।

सोमपाल कामी (नेपाल आर्मी क्लब)

नेपाली राष्ट्रिय टोलीका अलराउण्डर सोमपाल कामीले पुलिस क्लबविरुद्ध उत्कृष्ट ब्याटिङ गरे । नेपाल आर्मीबाट घरेलु क्रिकेट खेलिरहेका सोमपालले पुलिसविरुद्ध दोस्रो इनिङमा अविजित ८२ रन बनाए ।

सोमपालले एक सय २८ बलमा १० चौका र एक छक्का प्रहार गरेका थिए । पहिलो इनिङमा ओपनर भएर मैदान प्रवेश गरेका सोमपाल पाँच रन बनाएका थिए । तर दोस्रो इनिङमा उनि चार विकेट गुमेपछि मात्रै मैदान प्रवेश गरे ।

स्पिनर हावी भएको पिचमा बलिङतर्फ खासै जम्न नसकेका सोमपालले ब्याटिङमा भने सम्झनलायक प्रदर्शन गरे ।

दोस्रो खेल बुधबारदेखि सुरु

प्रतियोगिता अन्तर्गत बुधबारदेखि दोस्रो खेल सुरु हुँदैछ । वीरगन्जमा हुने खेलमा मधेश प्रदेश र नेपाल पुलिस क्लब भिड्नेछन् भने जनकपुरमा हुने खेलमा नेपाल आर्मी क्लब र बागमती प्रदेशबीच खेल हुनेछ ।

प्रतियोगिताको शिर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । वीरगन्जमा हुने फाइनल खेल भने तीन दिवसीय हुने नेपाल क्रिकेट संघ मधेश प्रदेशका कोषाध्यक्ष एवम् प्रतियोगिता संयोजक सुभास जयसवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्