उपसचिवसहित जीतपुरसिमराका पाचौं तहका कर्मचारीको धर्ना स्थगित


eShilalekh

२३ पुष २०८१, मंगलवार १८:४७

सिमराः तह वृद्धिमा ढिलासुस्ती गरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाका एक उपसचिवसहित पाचौं तहका कर्मचारीले कार्यालयमा गर्दै आएको धर्ना कार्यक्रम स्थगित गरेका छन् । उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखले माग पूरा गरिदिने मौखिक आश्वासन दिएको भन्दै कर्मचारीले धर्ना स्थगित गरेका हुन् ।

मधेश प्रदेशले जारी गरेको स्थानीय सेवा (गठन तथा संचालन) ऐन २०८१ बमोजिम तह वृद्धि गर्न ढिलाई गरेको भन्दै उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादसहित पाचौं तहका कर्मचारीले पुष १९ गतेदेखि कार्यालय परिसरमा धर्ना दिदै आएका थिए । तह वृद्धिका लागि पटकपटक प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई ध्यानाकर्षण गराउँदै आएपनि तह वृद्धिमा चासो नदेखाएको भन्दै कर्मचारीहरु धर्नामा बसेका थिए ।

धर्नामा बसेका कर्मचारीले नगर प्रमुख र उपप्रमुखको मौखिक आश्वासनपछि पेन डाउन र धर्ना कार्यक्रम स्थगित गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्