जय ट्रफीः पुलिसविरुद्ध मयनले बनाए अर्धशतक, गुलशनले लिए पाँच विकेट


eShilalekh

२४ पुष २०८१, बुधबार १३:०४

वीरगन्जः जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा जारी दोस्रो खेलमा मधेश प्रदेशका मयन यादवले अर्धशतक प्रहार गरेका छन् । मयनले नेपाल पुलिस क्लबविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।

नारायणी क्रिकेट रंगशालामा भईरहेको खेलमा गुलशन झाको बलमा आउट हुनुअघि ५९ रन बनाएका छन् । पुलिसविरुद्ध एक सय दुई बल खेलेका मयनले पाँच चौका र दुई छक्का प्रहार गरे ।

पुलिसविरुद्ध ओपनर ब्याटरको रुपमा आएका मयन सातौं विकेटकारुपमा पेभेलियन फर्किएका छन् । उनी ३५.४ ओभरमा गुलशन झाको बलमा सरवन यादवद्धारा क्याच आउट भए ।

मयनले यसअघि जनकपुरमा बागमती प्रदेशविरुद्ध शतकीय पालि खेलेका थिए । मयन जय ट्रफीमा पहिलो शतक प्रहार गर्ने खेलाडी बनिसकेका छन् । बागमतीविरुद्ध उनले एक सय आठ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै एक सय ६ रन बनाएका थिए ।

मयनको यो खेल जीवनकै पहिलो शतक हो भने कुनै पनि प्रतियोगितामा प्रहार गरेको सर्वाधिक रन पनि हो । यु–१९ राष्ट्रिय खेलाडी मयनले मंसिरमा दुबईको शारजाहमा सम्पन्न एसीसी यु–१९ एशिया कप क्रिकेटमा श्रीलंकाविरुद्ध ६२ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । जनकपुर बोल्ट्समा मयनले एनपीएलको क्वालिफायर र फाइनल खेल खेलेका थिए ।

पुलिसविरुद्ध मधेशको ब्याटिङ

पुलिस क्लबविरुद्ध मधेश प्रदेशले ४० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन जोडेको छ । मधेशका लागि निरज यादवले २९, अभिषेक तिवारीले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेका छैनन् ।

पुलिसका लागि गुलशन झाले पाँच विकेट लिएका छन् भने सरवन यादव, ललित राजवंशी र कुशल भुर्तेले एक/एक विकेट हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्