शीतलहर र चिसो बढेपछि यी स्थानीय तहले विद्यालयमा दिए जाडो बिदा
सिमराः बाक्लो हुस्सु र शीतलहर बढेपछि बाराका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिँदै बर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिएका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाले पुष २४ र २५ गतेका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । शिक्षा अधिकृत हरिशप्रसाद भट्टले सूचना जारी गरेर चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै विद्यालयमा बिदा दिएको जनाएका छन् ।
यसैगरी निजगढ नगरपालिकाले मातहतका सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिएको छ । अत्यधिक चिसोका कारण विद्यालयमा नियमित पठनपाठन कार्य असहज भएकाले विद्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिएका छन् । बर्तौलाका अनुसार वर्षे बिदामा मिलान हुने गरी पुष २६ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय भएको हो ।
यस्तै महागढीमाई नगरपालिकाले पुष २६ गतेसम्म बिदा थप गरेको छ । पुष २३ गतेसम्म यसअघि नै बिदा घोषणा गरेको नगरपालिकाले २६ गतेसम्म बिदा थप गरेको हो ।
बाराको परवानीपुर गाँउपालिका, सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले पनि पुष २६ गतेसम्म जाडो बिदा दिएका छन् ।