जय ट्रफीः मधेश प्रदेशविरुद्ध पुलिसलाई ४५ रनको अग्रता
वीरगन्जः जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा जारी दोस्रो खेलको पहिलो दिन नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध ४५ रनको अग्रता बनाएको छ ।
पहिलो दिनको खेल समाप्त हुँदा पुलिसले ४० ओभरमा तीन विकेट गुमाउँदै एक सय ७४ जोडेको हो । पुलिसका लागि कुशल भुर्तेलले ६३ रनको पालि खेलेका छन् । उनले ६८ बलको सामना गर्दै १० चौकासहित ६३ रन बनाएका हुन् ।
यसैगरी पुलिसका ओपनर दिलिप नाथले ४० रन बनाउँदा अमित श्रेष्ठले अविजित ३४ रन बनाएका छन् । अमितलाई कप्तान आरिफ शेखले १३ रन बनाएर साथ दिईरहेका छन् । मधेशका कप्तान हरिशंकर साहले दुई र अभिषेक तिवारीले एक विकेट लिएका छन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्न आएको मधेशले ४२.४ ओभरमा एक सय २९ रन बनाएको थियो । मधेशका लागि मयन यादवले ५९ रन बनाउँदै अर्धशतक पुरा गरे । यस्तै निरज यादवले २९ र अभिषेक तिवारीले १७ रन बनाउँदा मधेशका अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।
मधेशलाई कम स्कोरमा रोक्ने क्रममा पुलिसका गुलशन झाले पाँच विकेट लिए । गुलशन जारी प्रतियोगिताको एउटै इनिङमा पाँच विकेट लिने चौथो बलर बनेका छन् । यसअघि एउटै इनिङमा नेपाल आर्मीका साहब आलमले आठ, नेपाल पुलिसका ललित राजवंशीले सात र बागमतीका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएका थिए ।