मधेश सरकारले शहीद परिवारको स्वास्थ्य बीमा गर्ने
सिमराः मधेश प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य बीमा गर्ने भएको छ । शहीद परिवारको स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले पुष ९ गतेबाट उक्त बीमा कार्यक्रम लागू भएको जानकारी दिए । मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने बताए ।
उनले स्वास्थ्य बीमा कार्यक्रमले शहीद परिवारहरूलाई स्वास्थ्य समस्यामा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले शहीद परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको बताए ।
लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानूनी संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी दिए । कार्यदल स्थानीय तहहरूको संरचना सुधारका लागि मस्यौदा तयार पार्ने कार्यमा समर्पित हुने जनाइएको छ । मन्त्री लेखीले कार्यदलले तयार पारेको मस्यौदा प्रदेश सरकारलाई बुझाइने तयारी रहेको बताए ।