जय ट्रफीमा पुलिसको फराकिलो जित, एक इनिङ र ३५ रनले हार्यो मधेश


eShilalekh

२५ पुष २०८१, बिहीबार १६:२६

वीरगन्जः जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विहीबार मधेश प्रदेशविरुद्ध फराकिलो जीत निकालेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट रंगशालामा भएको खेलमा पुलिसले मधेश प्रदेशलाई एक इनिङ र ३५ रनले पराजित गरेको हो ।

दोस्रो खेलको दोस्रो पालिमा मधेश ९४ रनमै समेटिएपछि पुलिसले फराकिलो जीत हात पारेको हो । पुलिसविरुद्धको दोस्रो पालिमा मधेशको ब्याटिङ लाइनअप निरिह बन्न पुग्यो ।

मधेशका लागि विशाल पटेल, मयन यादव र हिमांशु दत्तले बाहेक अन्य खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन् । मधेशको लाइनअप ध्वस्त पार्ने क्रममा पुलिसका कुशल भुर्तेलले पाँच विकेट लिए । यो संगै भुर्तेल जारी प्रतियोगितामा एउटै इनिङमा पाँच विकेट लिने पाँचौ खेलाडी बनेका छन् । यसैगरी गुलशन झाले तीन र ललित राजवंशीले दुई विकेट लिए ।

टस हारेर बुधबार बिहान ब्याटिङ सुरु गरेको मधेशले पहिलो पालिमा एक सय २९ रन जोडेको थियो । मधेशलाई कम स्कोरमा रोक्दै ब्याटिङ गर्न आएको पुलिसले चार विकेटको क्षतिमा दुई सय ५८ रन बनाएर विहीबार बिहान पालि समाप्तिको घोषणा गरेको थियो । मधेशविरुद्ध बलियो योगफल तयार पार्ने क्रममा कुशल भुर्तेलले ६३ रन बनाए ।

पुलिसले पालि समाप्तिको घोषणा गर्दा मधेश ९९ रनले पछि परेको थियो । पुलिसविरुद्ध दोस्रो पालि सुरु गरेको मधेश ९४ रनमै समेटिएपछि पुलिसले एक इनिङसहित ३५ रनले जीत हात पारेको हो । पुलिसका कुशल भुर्तेल प्लेयर अफ दि म्याच घोषित भए ।

जीतसंगै दुई खेल खेलेको पुलिस ४० अंकसहित तालिकाको शिर्ष स्थानमा छ । यसअघि पुलिस र नेपाल आर्मी क्लबबीच भएको पहिलो खेल बराबरीमा सकिएको थियो ।

पुलिसले अब तेस्रो खेल पुष २७ र २८ गते बागमती प्रदेशसंग जनकपुरमा खेल्नेछ । नेपाल क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पुलिससहित मधेश प्रदेश, नेपाल आर्मी क्लब, बागमती प्रदेश सहभागी छन् । गत वर्ष सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शिर्ष चार टोलीले जय ट्रफी खेलिरहेका छन् ।

यस प्रतियोगिताको शिर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १ गतेदेखि ३ गतेसम्म वीरगन्जमा हुनेछ । फाइनल खेल तीन दिवसीय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्