जय ट्रफीः बलियो स्थितीमा आर्मी, मधेश फलोअनमा


eShilalekh

२७ पुष २०८१, शनिबार २१:२५

सिमराः जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सुरु भएको तेस्रो खेलमा विभागीय टोलीले बलियो सुरुवात गरेका छन् । सिंगल राउण्ड रोबिनका आधारमा भईरहेको प्रतियोगिताको अन्तिम खेलमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले बलियो सुरुवात गरेका हुन् ।

वीरगन्जस्थित नारायणी क्रिकेट रंगशालामा पहिलो दिनको खेल समाप्ति हुँदा आर्मीले मधेश प्रदेशविरुद्ध एक सय २१ रनको अग्रता लिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५९.३ ओभरमा ९ विकेट गुमाउँदै दुई सय २५ रन बनाएको थियो ।

निर्धारित ओभरभन्दा तीन बल अघिनै पालि समाप्तिको घोषणा गरेको आर्मीका लागि भिम सार्की र बशिर अहमदले अर्धशतक बनाए । भिमले ५२ र बशिरले ६७ रन बनाएका हुन् ।

जारी प्रतियोगितामा भिमको यो पहिलो अर्धशतक हो भने बशिरको दोस्रो हो । बशिरले यसअघि बागमती प्रदेशविरुद्ध ५३ रन बनाएका थिए । यसैगरी आर्मीका इमरान शेखले ४२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाएनन् ।

आर्मीविरुद्ध मधेशका युवा बलर रञ्जित कुमारले पाँच विकेट लिए । रञ्जित प्रतियोगिताको एकै पालिमा पाँच विकेट लिने छैठौं बलर बनेका छन् । उनले १६.३ ओभर बलिङ गर्दै ४४ रन खर्चिएर पाँच विकेट हात पारेका हुन् ।

आर्मीले पालि समाप्ति घोषणा गरेपछि ब्याटिङका लागि आएको मधेश पुनः कमजोर देखियो । मधेशले ३५.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय दुई रन मात्र जोड्न सक्यो । मधेशका कप्तान हरिशंकर साहले ३१, अभिषेक तिवारीले १३, मयन यादवले ११ र प्रदीप पासवानले १० रन बनाए । मधेशका अन्य ब्याटर आर्मीविरुद्ध चल्न सकेनन् ।

मधेशको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा आर्मीका साहब आलमले ६ विकेट लिए । आलमले यसअघि नेपाल पुलिस क्लबविरुद्धको पहिलो खेलमा १० विकेट लिएका थिए ।

एक सय दुई रनमा सबै विकेट गुमाएको मधेश फलोअनमा समेत परेको छ । टेस्ट क्रिकेटको पहिलो इनिङमा दुई सय रन र दुई दिवसीयमा एक सय रनले पछि पर्ने टोली फलोअनमा पर्नेछ । फलोअनमा परेपछि अलआउट भएलगत्तै पुनः ब्याटिङ गर्न उत्रिएको मधेशले एक ओभरमा दुई रन बनाएको छ ।

यसैगरी जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय मैदानमा भएको पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब बलियो स्थितीमा छ । टस हारेर ब्याटिङ गर्न आएको बागमती ३३.२ ओभरमा सबै विकेट गुमाएर एक सय १२ रन मात्रै जोड्न सक्यो ।
बागमतीका लागि इशान पाण्डेले आफ्नो पहिलो अर्धशतक पूरा गरे । इशानले ९४ बलमा १० चौकासहित ७१ रन बनाए भने प्रतीक श्रेष्ठले १२ रन जोडे । बागमतीका अन्य ब्याटर चल्न सकेनन् ।

बागमतीलाई कम स्कोरमै रोक्ने क्रममा ललित राजवंशीले चार, सरवन यादवले तीन र कुशल भुर्तेलले दुई विकेट लिए ।
बागमतीविरुद्ध पहिलो पालि ब्याटिङ गर्न आएको पुलिसले ४५.५ ओभरमा सबै विकेट गुमाएर दुई सय १५ रन जोड्यो । पुलिसका लागि अमित श्रेष्ठले ७९ रन बनाए । अमितको यो प्रतियोगितामा पहिलो अर्धशतक हो । उनले ९७ बलमा १० चौका र दुई छक्का प्रहार गरे ।

यसैगरी अर्जुन साउदले पनि आफ्नो पहिलो अर्धशतक बनाए । उनले ८२ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । पुलिसका गुलशन झाले १७ रन बनाए । त्यसबाहेक पुलिसका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसविरुद्ध बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए । यसैगरी नन्दन यादव र प्रतिश जिसीले दुई÷दुई र रिजन ढकालले एक विकेट लिए ।

पहिलो पालिमा एक सय तीन रनले पछि परेको बागमतीले दोस्रो पालि सुरु गरेको छ । पहिलो दिनको खेल समाप्ति हुँदा बागमतीले चार ओभरमा आठ रन बनाएको छ ।

नेपाल क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा नेपाल पुलिस क्लबसहित मधेश प्रदेश, नेपाल आर्मी क्लब, बागमती प्रदेश सहभागी छन् । गत वर्ष सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शिर्ष चार टोलीले जय ट्रफी खेलिरहेका छन् ।
यस प्रतियोगिताको शिर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १ गतेदेखि ३ गतेसम्म वीरगन्जमा हुनेछ । फाइनल खेल तीन दिवसीय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्