जय ट्रफी: विभागीय टोली हावी, पुलिस र आर्मी फाइनलमा
सिमराः जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । समूह चरणको अन्तिम खेलमा आर्मीले मधेस प्रदेश र पुलिसले बागमती प्रदेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
पुलिस दुई जित र एक बराबरीका साथ फाइनल प्रवेश गरेको हो भने आर्मी दुई बराबरी र एक जितका साथ फाइनलमा पुगेको हो । समूह चरणको तीन खेलमा मधेस प्रदेशले दुई र बागमतीले एक पराजयको सामना गर्नुपर्यो ।
२०८० माघमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शिर्ष चारमा रहेका चार टिमले जय ट्रफी एलिट कपमा सहभागिता जनाएका थिए । प्रधानमन्त्री कपमा समान ९ खेल खेलेर नेपाल पुलिस क्लबले १८, आर्मीले १४, बागमती र मधेशले १२/१२ अंक प्राप्त गरेका थिए । पुलिसले आर्मीलाई ६ विकेटले पराजित गर्दै उक्त प्रधानमन्त्री कपको उपाधि जितेको थियो ।
प्रधानमन्त्री कपको फाइनल खेलेका दुई टोली पुनः एलिट कपको फाइनलमा भिड्ने भएका छन् । आर्मीका लागि अघिल्लो पटक हारको बदला लिने मौका हुनेछ भने पुलिसका लागि आफ्नो वर्चश्व कायम राख्ने अवसर रहनेछ । तीन दिवसीय फाइनल खेल माघ १ गतेदेखि वीरगन्जमा हुनेछ ।
साहबको उत्कृष्ट बलिङले आर्मीलाई फाइदा
वीरगन्जको नारायणी क्रिकेट रंगशालामा समूह चरणको अन्तिम खेलमा मधेस प्रदेशविरुद्ध आठ विकेटको जीत निकाल्दै आर्मी ५५ अंकका साथ फाइनलमा प्रवेश गरेको हो ।
फलो अनमा परेको मधेशले दिएको २८ रनको झिनो लक्ष्य आर्मीले ६ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । यसअघि फलो अनमा परेको मधेसले पहिलो पालिमा एक सय दुई र दोस्रो पालिमा एक सय ५० रन मात्र बनाउन सक्यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो पालिमा ९ विकेट गुमाएर दुई सय २५ रन बनाउँदै पालि समाप्तिको घोषणा गरेको थियो । आर्मीविरुद्ध पहिलो पालि सुरु गरेको मधेसले कमजोर प्रदर्शन गर्दै एक सय दुई रन बनायो । जसका कारण मधेस फलोअन गर्न बाध्य भयो ।
दुई दिवसीय क्रिकेटमा पहिलो पालिमा एक सय रनले पछि पर्ने टोली फलोअनमा पर्ने गर्दछ । फलोअनमा परेपछि पुनः ब्याटिङ गरेको मधेसले दोस्रो पालिमा सबै विकेट गुमाएर एक सय ५० रन जोड्दा आर्मीले २८ रनको लक्ष्य पाएको थियो ।
मधेसको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा आर्मीका साहब आलमले ९ विकेट लिए । पहिलो पालिमा ६ विकेट लिएका आलमले दोस्रो पालिमा तीन विकेट लिए । पहिलो पालिमा १२ ओभर बलिङ गर्दै ३७ रन खर्चिएर आलमले निरज यादव, हरिशंकर साह, विशाल पटेल, अभिषेक तिवारी, रुपेश सिंह र हिमांशु दत्तको विकेट लिएका थिए । यसैगरी दोस्रो पालिमा २६ ओभर बलिङ गरेर ४५ रन खर्चिदै आलमले निरज यादव, मयन यादव र शैलेन्द्र साहलाई पेभेलियनको बाटो देखाएका थिए । आर्मीका बशिर अहमदले चार र आकाश चन्दले दुई विकेट लिए ।
प्लेयर अफ दि म्याच घोषित आलमले प्रतियोगितामा दोस्रो पटक एउटै खेलमा १० विकेट लिने अवसर भने गुमाए । उनले यसअघि नारायणी रंगशालामा भएको समूह चरणको पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध एउटै खेलमा १० विकेट लिएका थिए । आलमसंगै १० विकेट लिने सूचिमा बागमतीका कप्तान सन्दीप लामिछाने पनि छन् । सन्दीपले जनकपुरमा सम्पन्न समूह चरणको पहिलो खेलमा मधेसविरुद्ध १० विकेट लिएका थिए ।
आलम जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचिमा छन् । उनले २१ विकेट हात पारेका छन् । उनिपछि दोस्रो नम्बरमा १९ विकेट लिएका नेपाल पुलिस क्लबका ललित राजवंशी र तेस्रो नम्बरमा १७ विकेट लिएका बागमतीका कप्तान सन्दीप लामिछाने छन् ।
यसअघि शनिबार टस जितेर मधेसले ब्याटिङको निम्तो दिएपछि आर्मीले पालिको सुरुवात गरेको थियो । पहिलो पालिमा आर्मीले ५९.३ ओभरमा ९ विकेट गुमाएर दुई सय २५ रन बनाउँदै पालि समाप्तिको घोष्णा गरेको थियो । आर्मीका लागि बशिर अहमदले ६७ र भिम सार्कीले ५२ रन बनाए भने इमरान शेखले ४२ रन जोडेका थिए ।
प्रतियोगिमा बशिरले दोस्रो अर्धशतक बनाएका थिए भने भीमले आफ्नो पहिलो अर्धशतक पूरा गरेका थिए । बशिर, भिम र इमरानबाहेक आर्मीका अन्य ब्याटर भने चल्न सकेनन् । आर्मीविरुद्ध मधेसका युवा बलर रञ्जितकुमारले पाँच विकेट लिए । रञ्जित जारी प्रतियोगितामा एउटै पालिमा पाँच विकेट लिने छैठौं बलर बनेका छन् ।
दुई जीतका साथ पुलिस फाइनलमा
बागमतीविरुद्ध दोस्रो जीत दर्ता गर्दै शिर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गर्ने क्रममा पुलिसले पाँच विकेटको जीत निकाल्यो । प्रतियोगितामा पुलिसको यो दोस्रो जीत हो । यसअघि पुलिसले मधेस प्रदेशलाई एक पालि र ३५ रनले पराजित गरेको थियो ।
जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि सुरु भएको खेलमा नेपाल पुलिस क्लबले टस जितेर बागमतीलाई ब्याटिङका लागि निमन्त्रणा दिएको थियो ।
पुलिसविरुद्ध ब्याटिङ गर्न उत्रिएको बागमतीले ३३.२ ओभरमै सबै विकेट गुमाएर एक सय १२ रन मात्र बनाउन सक्यो । बागमतीका लागि ओपनर इशान पाण्डेले ७१ रन बनाए । बागमतीका अन्य ब्याटर चलेनन् । बागमतीलाई कम स्कोरमा रोक्ने क्रममा ललित राजवंशीले चार, सरवन यादवले तीन र कुशल भुर्तेलले दुई विकेट लिए ।
यसैगरी बागमतीविरुद्ध पहिलो पालिमा सम्पूर्ण विकेट गुमाउँदै दुई सय १५ रन बनाएर पुलिसले एक सय तीन रनको अग्रता लियो । बागमतीका अमित श्रेष्ठले ७९ र अर्जुन साउदले ७७ रन बनाए । पुलिसविरुद्ध सन्दीप लामिछानेले चार, नन्दन यादव र प्रतिश जिसीले दुई/दुई र रिजन ढकालले एक विकेट लिए ।
पुलिसविरुद्ध एक सय तीन रनले पछि परेको अवस्थामा दोस्रो पालि सुरु गरेको बागमतीले १० विकेटको क्षतिमा दुई सय १८ रन मात्र जोड्यो । बागमतीका लागि शुभ कंसकारले ७० र रित गौतमले ५२ रन बनाए । शुभ र रितका लागि प्रतियोगिताको पहिलो अर्धशतक हो ।
बागमती दुई सय १८ रनमै समेटिएपछि पुलिसले एक सय १६ रनको लक्ष्य पाएको थियो । बागमतीले दिएको उक्त लक्ष्य पुलिसले २३ ओभरमा पाँच विकेट गुमाउँदै पुरा गर्यो । पुलिसका लागि अमित श्रेष्ठले ५६ रन प्रहार गर्दै दोस्रो अर्धशतक बनाए । अमितले पहिलो पालिमा ७९ रन बनाएका थिए । अमित प्लेयर अफ दि म्याच घोषित भए ।