समाजवादी मोर्चा सक्रिय बनाउने तयारी हुँदैछः नेता नेपाल
सिमराः नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने विषयमा छलफल भईरहेको बताएका छन् ।
बाराको कलैयामा सोमबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले चार दल सम्मिलित समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउन तयारी भईरहेको बताए । नेपालका अनुसार नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, विप्लवलगायतका पार्टीबीच छलफल भईरहेको छ ।
नेता नेपालले वर्तमान सरकार टिक्नेमा आशंका व्यक्त गरेका छन् । सत्तारुढ दलबीच अविश्वासको वातावरण बनेको भन्दै नेता नेपालले सरकार लामो समयसम्म जानेमा शंका रहेको बताए ।
नेपालले राष्ट्रिय गौरवका आयोजना निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले पालिका तहमा भन्दा जिल्लामा एउटा सुविधासम्पन्न अस्पताल बनाउन आवश्यक रहेको बताएका छन् ।