जय ट्रफी: उपाधिका लागि पुलिस र आर्मी भिड्दै, यी हुन् प्रभाव पार्न सक्ने खेलाडी


eShilalekh

१ माघ २०८१, मंगलवार ०९:४१

सिमराः जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त मंगलबारदेखि सुरु हुँदैछ । तीन दिवसीय फरम्याटमा हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

दुई विभागीय टिमको उपाधि भिडन्त वीरगन्जको नारायणी क्रिकेट रंगशालामा हुनेछ । मौसम सफा नभएका कारण टस हुन सकेको छैन । मौसम सफा भएलगत्तै दुई टिमबीचको खेल सुरु हुनेछ ।

समूह चरणको खेलमा शिर्ष दुई स्थानमा रहेका पुलिस र आर्मी प्रतियोगिताको फाइनल खेल्न लागेका हुन् । समूह चरणमा समान तीन खेलमा पुलिसले ६६ र आर्मीले ५५ अंक बटुलेको थियो ।

प्रतियोगितामा सहभागी अन्य टोलीमध्ये तेस्रो स्थानमा रहेको बागमतीले ४१.५ र पुछारमा रहेको मधेस प्रदेशले ३१ अंक पाएको थियो । समूह चरणको खेलमा पुलिसले दुई खेल जितेको थियो भने एकमा बराबरी भएको थियो । आर्मीले भने एकमा जित हात पारेको थियो भने दुई खेल बराबरीमा टुंग्याएको थियो ।

समूह चरणको पहिलो खेलमा आर्मीसंग बराबरी खेलेको पुलिसले दोस्रो खेलमा मधेसलाई एक इनिङ र ३५ रन पराजित गरेको थियो भने तेस्रो खेलमा बागमतीमाथि पाँच विकेटको जित हात पारेको थियो । आर्मीले भने पहिलो खेलमा पुलिस र दोस्रो खेलमा बागमतीसंग बराबरी खेल्दै तेस्रो खेलमा मधेसलाई आठ विकेटले हराएको थियो ।

२०८० माघमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शिर्ष चारमा रहेका चार टोलीले जय ट्रफी एलिट कपमा सहभागिता जनाएका थिए । प्रधानमन्त्री कपको फाइनलमा पुलिसले आर्मीलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रधानमन्त्री कपको फाइनल खेलेका दुबै टोली पुनः एलिट कपको फाइनलमा भिड्न लागेका हुन् । आर्मीका लागि यो खेल अघिल्लो पटक फाइनलमा बेहोरेको हारको बदला लिने मौका हुनेछ भने पुलिसका लागि आफ्नो वर्चश्व कायम राख्ने अवसर रहनेछ ।

प्रभाव पार्न सक्ने खेलाडी

साहब आलम (आर्मी)
रोमाञ्चक हुने अपेक्षा गरिएको विभागीय भिडन्तमा आर्मीका साहब आलम प्रभाव पार्न सक्ने खेलाडीको सूचिमा छन् । जारी प्रतियोगितामा आलमले २१ विकेट लिईसकेका छन् ।

आलमले पुलिसविरुद्धकै पहिलो खेलमा १० विकेट लिएका थिए । पहिलो पालिमा आठ विकेट लिएका आलमले दोस्रो पालिमा दुई विकेट लिँदै १० विकेट हात पारेका थिए । आलमले तेस्रो खेलमा मधेसविरुद्ध एउटै पालिमा ६ विकेट लिएका थिए । स्पिनरलाई मद्यत मिलिरहेको पिचमा आलम पुलिसका लागि खतरा बन्न सक्नेछन् ।

ललित राजवंशी (पुलिस)

प्रतियोगितामा १९ विकेट लिएका ललित राजवंशी आर्मीको उपाधि उचाल्ने सपनामा बाधक बन्न सक्छन् । ललितले समूह चरणको पहिलो खेलमा आर्मीविरुद्ध एउटै पालिमा सात विकेट लिएका थिए ।

राष्ट्रिय टोलीका बलर समेत रहेका ललित उपाधि भिडन्तमा प्रभाव पार्न सक्ने मुख्य खेलाडीमा पर्दछन् । उनीविरुद्ध खेल्न आर्मीका खेलाडीलाई सहज देखिदैन ।

कुशल भुर्तेल (पुलिस)

नेपाली राष्ट्रिय टोलीका खेलाडी समेत रहेका कुशल भुर्तेल प्रभाव पार्न सक्ने अर्का खेलाडी हुन् । पछिल्लो समय सोचेअनुरुप प्रदर्शन गर्न नसकेको भन्दै दवाव खेपिरहेका भुर्तेलले जारी प्रतियोगितामा १५ विकेट लिएका छन् ।

उनले मधेसविरुद्ध एउटै पालिमा पाँच विकेट लिएका थिए भने सोही खेलमा ६३ रन जोडेका थिए । सर्वाधिक विकेट लिने बलरको सूचिमा चौथो स्थानमा रहेका भुर्तेलले समूह चरणको तीन खेलमा एक सय आठ रन बनाएका छन् ।

बशिर अहमद (आर्मी)
आर्मीका युवा खेलाडी बशिर अहमद प्रतियोगितामा उत्कृष्ट लयमा छन् । उनले प्रतियोगितामा दुई वटा अर्धशतक बनाईसकेका छन् ।

बशिरले बागमतीविरुद्ध ५३ रन र मधेसविरुद्ध ६७ रन बनाएका थिए । तीन खेलमा एक सय ३७ रन जोडेका बशिरले पाँच विकेट समेत हात पारेका छन् । उनले मधेसविरुद्ध एउटै पालिमा चार विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्