अपहरणमा परेका १५ वर्षीय बालकको सर्लाहीबाट उद्धार, तीन अपहरणकारी पक्राउ
सर्लाहीः सर्लाही प्रहरीले अपहरणमा परेका १५ वर्षीय भारतीय बालकलाई सुरक्षित रूपमा उद्धार गरेको छ । बालकलाई सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ स्थित रामजी साहको घरबाट सकुशल उद्धार गरिएको हो ।
अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६८ वर्षीय रामजी साह, १९ वर्षीय विक्रम पासवान र बिहारको सितामढी जिल्लाको मुसहर्निया टोलका २७ वर्षीय प्रवचन साह रहेका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पक्राउ परेकाहरूसँग कटुवा पेस्तोल, दुई राउन्ड गोली, मोबाइल, धारिलो चक्कु, हथौडा र बीआर ०६बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।
प्रहरीले बालकलाई उद्धार गरी सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको छ । पक्राउ परेकाहरूमाथि अपहरण, शारीरिक बन्धक, र हातहतियार खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।