जय ट्रफी फाइनलः आर्मी १७० रनमै अलआउट, पुलिसविरुद्ध ३७ रनको अग्रता
वीरगन्जः जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा जारी फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो पालिमा ३७ रनको अग्रता लिएको छ । एक सय ३३ रन बनाउँदै पहिलो पालि समाप्तिको घोषणा गरेको नेपाल पुलिस क्लबविरुद्ध ब्याटिङ गरेको आर्मीले ३७ रनको अग्रता लिएको हो ।
आर्मीले पहिलो पालिमा ३९.५ ओभर खेल्दै सबै विकेट गुमाएर एक सय ७० रन बनाएको छ । आर्मीका लागि भिम सार्कीले ५८ रन बनाएका छन् । प्रतियोगितामा भिमको यो दोस्रो अर्धशतक हो । यसअघि उनले मधेस प्रदेशविरुद्ध ५२ रन बनाएका थिए ।
आर्मीविरुद्ध पुलिसका सागर ढकालले पाँच विकेट लिएका छन् । सागर एकै पालिमा पाँच विकेट लिने सातौं बलर बनेका छन् । यसैगरी कुशल भुर्तेलले तीन विकेट हात पारेका छन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो पालिमा ९ विकेटको क्षतिमा एक सय ३३ रन बनाउँदै पालि समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि कुशल भुर्तेलले ५१ रन बनाए । भुर्तेलको जारी प्रतियोगितामा दोस्रो अर्धशतक हो । भुर्तेलले यसअघि मधेसविरुद्ध ६३ रन बनाएका थिए ।
पुलिसले दोस्रो पालिको ब्याटिङ थालेको छ । पुलिसका अमित श्रेष्ठ र कुशल भुर्तेल खेलिरहेका छन् ।