वीरगन्जमा प्रहरीद्वारा ठूलो परिमाणमा लागूऔषध चरेस बरामद

सिमराः वीरगन्जमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ गणेश टोलबाट प्रहरीले १९ किलो ५०० ग्राम चरेस बरामद गरेको हो ।
विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज १६ गणेश टोलको भित्री सडकबाट १३ वटा प्याकेटमा रहेको उक्त चरेस बरामद गरेको हो ।
प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोली गणेश टोलमा पुग्दा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा बोरा बोकेर जाँदै गरेका चालकले चरेस भएको बोरा फालेर भागेका थिए ।
बरामद चरेस प्रहरी कार्यलयमा राखिएको र तस्करको खोजी भइरहेको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए ।