क्यानका अध्यक्ष चन्दले गरे सिमरा रंगशालाको अवलोकन
सिमराः नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बुधवार सिमरा रंगशालाको अवलोकन गरेका छन् । वीरगन्जमा जारी जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको समापन समारोहमा सहभागी हुन सिमरा आएका चन्दले रंगशालाको अवलोकन गरेका हुन् ।
जीतपुरसिमरा गोल्डकप फूटबल प्रतियोगिता आयोजना हुँदै आएको सिमरा रंगशालामा क्रिकेट खेल समेत खेलाउन सकिने प्राविधिक सम्भाव्यताको अध्ययन भईरहेका बेला चन्दले रंगशालाको अवलोकन गरेका हुन् ।
हवाई मार्ग हुँदै सिमरा आएका चन्दलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवाललगायतले रंगशाला अवलोकनका लागि अनुरोध गरेका थिए । स्थानीय सरकार प्रमुखसहितको आग्रहपछि चन्दले रंगशालाको स्थलगत अवलोकन गरेका हुन् ।
रंगशालाको अवलोकन गर्दै चन्दले मापदण्डअनुसारको पूर्वाधार तयार भएमा क्रिकेट खेल आयोजना गर्न सकिने बताएका छन् । निर्माणधिन रंगशाला र पूर्वाधार देखेर खुशी भएका चन्दले प्राविधिक पक्षका विषयमा जिज्ञासा राखेका थिए । चन्दले प्राविधिकरुपमा खेल संचालनका लागि रंगशाला योग्य भएमा क्यानले प्रतियोगिता आयोजना गर्ने समेत बताए ।
उक्त रंगशालाको केही दिन अघि नेपाल क्रिकेट संघका व्यवस्थापक विनोद दासले समेत अवलोकन गरेका थिए । दासले सिमरा रंगशालालाई क्रिकेट प्रयोजनका लागि प्रयोग हुने गरी पूर्वाधार निर्माण गर्न सकिने प्रतिक्रिया दिएका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख पौडेलले बहुउदेश्यीय रंगशालाको रुपमा सिमरा रंगशालालाई विकास गर्ने प्रयासस्वरुप क्रिकेटको सम्भाव्यताको विषयमा खोजी भईरहेको बताए । क्रिकेटको मापदण्डभित्र पर्ने अवस्था रहेमा क्रिकेटका गतिविधि रंगशालामा बढाउन सकिने पौडेलको भनाई थियो ।
जीतपुरसिमरा गोल्डकप आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले फूटबल र क्रिकेट दुवै खेललाई संगसंगै अघि बढाउन मिल्ने प्राविधिक विषयमा छलफल अघि बढिरहेको बताए । क्यानका अध्यक्ष चन्दलाई रंगशालाको वस्तुस्थितीका विषयमा जानकारी दिँदै लामाले क्यानका व्यवस्थापक दासले समेत सकारात्मक प्रतिक्रिया दिएकाले आफूहरु उत्साहित रहेको बताए ।