जय ट्रफीको उपाधि पुलिसलाई, आर्मी स्तब्ध
वीरगन्जः जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । वीरगन्जको नारायणी रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।
पुलिसले दिएको एक सय तीन रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आर्मी ७४ रनमै समेटियो । प्रतियोगिताको उपाधि उचालेर गत वर्ष प्रधानमन्त्री कपमा बेहोरोको हारको बदला लिने आर्मीको चाहनामा सागर ढकाल बाधक बने ।
जय ट्रफीको पहिलो खेल खेलेका सागरले फाइनल खेलमा ११ विकेट हात पारे । फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित सागरले आर्मीविरुद्ध पहिलो पालिमा पाँच र दोस्रो पालिमा ६ विकेट लिए । प्रतियोगिताको एउटै खेलमा १० विकेट लिने सागर तेस्रो खेलाडी बनेका छन् ।
यसअघि आर्मीका साहब आलमले दुई पटक एउटै खेलमा १० विकेट लिएका थिए । आलमले फाइनल खेलमा पुलिसविरुद्ध १२ र समूह चरणमा पुलिस विरुद्ध नै १० विकेट हात पारेका थिए । यससंगै बागमतीका कप्तान सन्दीप लामिछानेले पनि १० विकेट लिएका छन् । सन्दीपले समूह चरणको खेलमा मधेस प्रदेशविरुद्ध १० विकेट लिएका थिए ।
आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललित राजवंशीले पनि दोस्रो पालिमा चार विकेट लिए । सागर र ललितको घातक बलिङसामु टिक्न नसकेको आर्मीले २९.२ ओभरमा ७४ रन मात्र बनाउन सक्यो ।
यसअघि फाइनल खेलको दोस्रो पालिमा पुलिसलाई एक सय ३९ रनमै रोक्दा आर्मी बलियो देखिएको थियो । तर आर्मीको ब्याटिङ लाइनअप कमजोर बन्न पुग्दा पुलिस उपाधि उचाल्न सफल भयो ।
तीन दिवसीय खेलको पहिलो दिन माघ १ गते आर्मीले टस जितेर पुलिसलाई ब्याटिङको निम्तो दिएको थियो । पहिलो पालिमा पुलिसले ३६.४ ओभरमा ९ विकेट गुमाउँदै एक सय ३३ रन बनाएर पालि समाप्तिको घोषणा गरेको थियो ।
पुलिसका लागि कुशल भुर्तेलले ५१ रन बनाएका थिए । भुर्तेलले प्रतियोगितामा दोस्रो पटक अर्धशतक बनाएका हुन् । यसअघि उनले मधेसविरुद्ध ६३ रन प्रहार गरेका थिए ।
आर्मीविरुद्ध भुर्तेलबाहेक अन्य ब्याटर जम्न सकेनन् । आर्मीका साहब आलम एक्लैले सात विकेट लिए । आलमको उत्ृकष्ट बलिङमा पुलिस मध्यम स्कोरमा रोकिन पुगेको थियो ।
पुलिसले पालि समाप्ति घोषणा गरेपछि ब्याटिङमा उत्रिएको आर्मीले सबै विकेट गुमाएर एक सय ७० बनायो । पुलिसका सागर ढकालले पाँच विकेट लिएका थिए । आर्मीले उक्त पालिमा पुलिसविरुद्ध ३७ रनको अग्रता लियो ।
आर्मीविरुद्ध दोस्रो पालिको ब्याटिङमा पुलिसले सम्पूर्ण विकेट गुमाएर एक सय ३९ रन जोड्यो । पुलिसका भुर्तेलले ४५, दिलिप नाथले ३४ र रसिद खानले १८ रन बनाए । आर्मीका लागि बशिर अहमदले पाँच र साहब आलमले पाँच विकेट लिए । बशिरले प्रतियोगितामा पहिलो पटक एकै पालिमा पाँच विकेट लिएका हुन् ।
पुलिस एक सय ३९ रनमै समेटिएपछि आर्मीले एक सय तीन रनको लक्ष्य पाएको थियो । पुलिसले दिएको सामान्य लक्ष्य पछ्याउन बिहीबार बिहान ब्याटिङ थालेको आर्मी ७४ रनमा समेटिएपछि उपविजेतामा चित्त बुझाउन बाध्य भएको हो ।
आर्मी यसअघि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पनि पुलिससंग पराजित हुँदै उपविजेता बनेको थियो । गत वर्ष माघमा सम्पन्न प्रधानमन्त्री कपको शिर्ष चारमा रहेका चार टोलीले यस प्रतियोगितामा सहभागिता जनाएका थिए ।
पुलिस र आर्मीसंगै प्रतियोगितामा मधेस र बागमती प्रदेशको पनि सहभागिता थियो । पुष २१ गतेदेखि सुरु भएको प्रतियोगिताको समूह चरणको खेलमा बागमती तेस्रो र मधेस चौथो स्थानमा रहे । अंकतालिकाको शिर्ष दुईमा रहेका पुलिस र आर्मीबीच उपाधि भिडन्त भएको हो ।
वीरगन्ज र जनकपुरमा १२ दिनसम्म आयोजना भएको प्रतियोगिताको प्लेयर अफ दि सिरिज र उत्कृष्ट बलर आर्मीका साहब आलम घोषित भए । आलमले प्रतियोगिता अवधिभर ३३ विकेट लिए । यसैगरी मधेसका युवा खेलाडी मयन यादव उत्कृष्ट ब्याटर घोषित भए । मयनले एक शतक र एक अर्धशतसहित प्रतियोगितामा दुई सय ६८ रन बनाएका थिए ।
विजेता टोलीका खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशनकुमार सिंह, क्यानका बोर्ड सदस्य धिरेन्द्र साउद, करण महतरा क्षेत्री, मधेस प्रदेश अध्यक्ष सुनिल महासेठ, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेललगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको समापन समारोहमा क्यानका अध्यक्ष चन्दले जय ट्रफीले खेलाडीको क्षमता अभिवृद्धि गर्न मद्यत पुग्ने बताए । नेपाल क्रिकेट संघले मधेस प्रदेश क्रिकेट संघ, पर्सा क्रिकेट संघ, धनुषा क्रिकेट संघसंगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । दुई जिल्लामा आयोजना भएको प्रतियोगिता उत्साहजनकरुपमा सम्पन्न भएको संयोजक सुवास जयलवालले बताए ।
प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीः
उत्कृष्ट ब्याटर– मयन यादव, मधेस प्रदेश – २६८
प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीः
उत्कृष्ट बलर– साहब आलम, त्रिभुवन आर्मी क्लब– ३३ विकेट
प्लेयर अफ दिन सिरिज:
साहब आलम, त्रिभुवन आर्मी क्लब
फाइनल खेलको प्लेयर अफ दि म्याच:
सागर ढकाल (नेपाल पुलिस): ११ विकेट