शिक्षक र कर्मचारीको तलब सिधै व्यक्तिकै खातामा पठाउने जीतपुरसिमराको तयारी, यस्तो छ कारण
सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले आफू मातहत रहेको सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीको तलब अब सिधै सम्बन्धित व्यक्तिकै खातामा पठाउने भएको छ । यसअघि विद्यालयको खातामा एकमुष्ठ तलबवापतको सेवासुविधा पठाउँदै आएको उपमहानगरपालिकाले अब शिक्षक र कर्मचारीकै खातामा पठाउने तयारी गरेको हो ।
उपमहानगरपालिकाले बुधबार सामुदायिक विद्यालयलाई पत्राचार गर्दै विद्यालयमा कार्यरत शिक्षक (स्थायी, राहत अनुदान, अस्थायी करार, बालबविकास सहजकर्ता) र कर्मचारी (लेखापाल, कार्यालय सहयोगी) को सम्पूर्ण कागजात माघ २० गतेभित्र पेश गर्न अनुरोध गरेको छ । विद्यालयले पेश गरेको कागजातका आधारमा उपमहानगरपालिकाले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको रकम कट्टा गरेर बाँकी तलब मासिकरुपमा व्यक्तिकै खातामा जम्मा गर्नेछ ।
यसअघि शिक्षक र कर्मचारीको तलब विद्यालयको खातामा जम्मा हुने गरेको थियो । विद्यालयको खातामा जम्मा हुने उक्त तलब शिक्षक र कर्मचारीले समयमै नपाउने गरेको गुनासो समेत सुनिदै आएको थियो । नगर क्षेत्र भित्रको केही विद्यालयका प्रध्यानाध्यापक र लेखापालले शिक्षक र कर्मचारीको सेवासुविधावापत खातामा जम्मा हुने रकम पछि मिलाउने गरी अन्यत्र खर्च गर्ने र समयमै तलब उलपब्ध गराउन ढिलासुस्ती गर्ने गरेका थिए ।
त्यसबाहेक शिक्षक र कर्मचारीको सेवासुविधावापतको रकम विद्यालयको खातामा जम्मा हुँदा ठूलो कारोवार देखिने र त्यसको लेखापरिक्षण गर्ने क्रममा लेखापरीक्षकलाई बढी पारिश्रमिक दिनुपर्ने समस्या समेत विद्यालय प्रशासनले झेल्दै आएको थियो । अब उपमहानगरपालिकाले सिधै शिक्षक र कर्मचारीको खातामा पठाउने भएपछि दोहोरो लेखापरिक्षण गर्नुपर्ने झन्झटबाट विद्यालय प्रशासन मुक्त हुनेछ । उपमहानगरपालिकाको कार्यालयबाट सिधै शिक्षक र कर्मचारीको खातामा तलब जाने भएपछि महालेखा परीक्षकको खटिने कर्मचारीले लेखापरिक्षण गर्नेछन् ।
उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाका अधिकृत हरिशप्रसाद भट्टले सम्बन्धित शिक्षक र कर्मचारीको खातामा सिधै तलब पठाउन थालिएपछि समयमै तलब नपाएको गुनासो समाधान हुने, तलबवापत पठाइने रकम दुरुपयोग नहुने, शिक्षक र कर्मचारीबीच आन्तरिक द्वन्द्धको अवस्था नहुने बताए ।
उपमहानगरपालिका भित्र रहेको ५९ वटा सामुदायिक विद्यालयमा ६ सय १८ जना शिक्षक र कर्मचारी कार्यरत छन् । उपमहानगरपालिकाले ती शिक्षक र कर्मचारीको सम्पूर्ण विवरणसहित नियुक्ती पत्र, बढुवा पत्र, नागरिक लगानी कोषको प्रतिलिपि, सञ्चय कोषको प्रतिलिपि, स्थायी लेखा नम्बर, बैंक खाता नम्बर उपलब्ध गराउन माग गरेको हो ।