वीरगन्ज युनाइटेड लालमा जारी तेस्रो ल्होछार कप फूटबलको फाइनलमा प्रवेश
सिमरा: वीरगन्ज युनाइटेड क्लब निजगढ नगरपालिका १० लालमा जारी तेस्रो ल्होछार कप नकआउट फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एभरेष्ट एकेडेमीलाई २-१ ले पराजित गर्दै वीरगन्ज अन्तिम दुईमा प्रवेश गरेको हो ।
वीरगन्जको जीतमा विवेक चौधरी र विक्रम लामाले समान एक/एक गोल गरे । एभरेष्टका लागि भने आकाश थापा मगरले एक गोल फर्काए ।
वीरगन्जका विक्रम प्लेयर अफ दि म्याच घोषित भए । उनलाई नेपाल तामाङ घेदुङ् संघ बाराका अध्यक्ष एवम् निजगढ नगरपालिका १३ का वडाध्यक्ष सूर्य घलान र योङ स्टार युनाइटेड क्लबका पूर्वअध्यक्ष सिद्धार्थ लोप्चनले पुरस्कृत गरे ।
प्रतियोगिता अन्तर्गत बिहीबार बेङखाडी युवा क्लब महोत्तरी र रतनपुर युनाइटेड क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
योङ स्टार युनाइटेड क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले दुई लाख दुई हजार दुई सय दुई र उपविजेताले एक लाख एक हजार एक सय एक नगद प्राप्त गर्नेछन् । फाइनल खेल माघ १२ गते हुनेछ ।