विद्यार्थी विद्यालय पुगिसकेपछि जाडो बिदाको सूचना, अन्यौलताकाबीच कक्षा संचालन
सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले बिहीबार करिब ९.४५ बजे जाडो बिदाको सूचना जारी गर्दा अधिकांश विद्यालयमा विद्यार्थी पुगिसकेका थिए । समयमै विद्यालय पुगेका शिक्षकहरु समेत हाजिर गरेर कक्षा संचालनको तयारी गर्दै थिए ।
त्यतिबेलै उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेजबाट जाडो विदाको सूचना सार्वजनिक भयो । उक्त सूचनाले विद्यालय पुगेका विद्यार्थी र शिक्षकमा अन्यौलता छायो ।
अन्यौलताकाबीच अधिकांश विद्यालयले कक्षा संचालन गर्ने निधो गरे भने केही विद्यालयले विद्यार्थीलाई घर फर्काए । उपमहानगरपालिकाको कार्यालयबाट समयमै सूचना जारी नहुँदा अन्यौलता भएको सामुदायिक विद्यालयमा कार्यरत एक शिक्षकले इशिलालेखलाई बताएका छन् ।
‘विद्यार्थीहरु कक्षाकोठामा बसिसकेका थिए भने केही विद्यार्थीहरु आउँदै थिए’ ती शिक्षकले भने ‘अचानक सामाजिक सञ्जालमार्फत बिदाको सूचना पायौं । अब यस्तो अवस्थामा भन्नुस के गर्ने ? हामीले पढाउने निर्णय गर्यौ ।’
टांगियाबस्तीमा रहेको सामुदायिक विद्यालयले भने विद्यार्थीलाई घर फर्कायो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सापकोटाले कक्षा संचालन हुन लागेकै बेला सूचना जारी भएपछि विद्यार्थीलाई घर फर्काएको बताए ।
टांगियाबस्तीकै शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई भने दिवा खाजाका लागि बनाइएको जाउलो खुवाएर घर पठाइएको छ । विद्यार्थीका लागि बनिसकेको खाजा नाश हुने भएपछि खुवाएर पठाइएको हो ।
अमलेखगञ्जस्थित माध्यमिक विद्यालयमा कक्षा संचालन गरिएको छ । सिमरास्थित माध्यमिक विद्यालयमा चार घण्टी पढाएर विद्यालय बिदा गर्ने तयारी छ । रजघट्टास्थित विद्यालयमा पूर्णरुपमा कक्षा संचालन गरिएको छ । विद्यालयका सहप्रध्यानाध्यापक बरुण गौतमले सूचना आउन ढिला भएको र अधिकांश शिक्षकले हाजिर गरिसकेका कारण कक्षा संचालन गरिएको बताए ।
उपमहानगरपालिकाको सामुदायिकसंगै अधिकांश संस्थागत विद्यालयमा पनि संचालन छ ।
यता उपमहानगरपालिकाले बिदाको सूचना जारी गर्दा त्रुटी गरेको छ । उपमहानगरपालिकाको सूचनामा २०८१।१०।१० देखि २०८१।१०।१२ गतेसम्म बिदा दिइएको उल्लेख छ । माघ १२ गते शनिबार पर्दछ । सार्वजनिक बिदालाई समेत समेटेर उपमहानगरपालिकाले सूचना जारी गरेको हो ।