सप्तरीमा १५ वर्षीय किशोरीमाथि बलात्कार, आरोपी नियन्त्रणमा


eShilalekh

१० माघ २०८१, बिहीबार १५:५६

सप्तरीः जिल्ला प्रहरी कार्यालय सप्तरीले जवरजस्ती करणी र शारीरिक आक्रमणको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला सप्तरी साविक गा.वि.स वडा नं. १ का १९ वर्षीय अकलेश कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

विष्णुपुर गाउँपालिका ७ स्थित कोशी सहायक नहरको दक्षिणी क्षेत्र डिल्स्थित स्थानमा १५ वर्षीय किशोरी साइकलमा कलेज जाँदै गर्दा मझाउ टोलबाट पूर्व साइफन पुल नजिकैको एकान्त स्थानमा आरोपी मण्डलले उनलाई रोक्ने प्रयास गरेका थिए ।

किशोरीद्वारा प्रतिकार गर्ने क्रममा आरोपीले उनको बायाँ हात भाँचिदिएकोे प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय विष्णुपुरले आरोपीलाई तत्काल नियन्त्रणमा लिएको छ । पीडित किशोरीले बुधबार नै जाहेरी दर्ता गराएकी छिन् । जाहेरीमा आफूले गम्भीर शारीरिक र मानसिक आघात व्यहोरेको उल्लेख गर्दै कानूनी कारबाही माग गरेकी छिन्।

प्रहरीले आरोपीलाई अदालतमा पेश गरेर म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । पीडितको स्वास्थ्य परीक्षणसमेत गराइएको र घटनाबारे थप प्रमाण जुटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्