निजगढमा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाइने

सिमराः बराको निजगढमा किशोरीलाई माघ २३ देखि २५ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाइने भएको छ ।
एच.पि.भी. खोप अभियान २०८१ अन्तर्गत निजगढ नगर क्षेत्रमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई सम्बन्धित विद्यालयमा सो खोप लगाइने निजगढ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
अभियान अन्तर्गत विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई नजिकैको विद्यालयमा तथा छुट भएका उक्त समूहका किशोरीहरूलाई नजिकको स्वास्थ्य संस्थामा समेत एच.पि.भी. खोप लगाइने निजगढ स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले जानकारी दिए ।
एच.पि.भी. खोप कक्षा ६ देखि १० सम्म सञ्चालन हुने नगरपालिकाका सबै विद्यालयहरूको साथै स्वास्थ्य संस्थाबाट समेत दिइने हुँदा अभियानको समयमा पायक पर्ने स्थानमा सम्पर्क गरी खोप लगाउनहुन स्वास्थ्य शाखा प्रमुख लामाले अनुरोध गरेका छन् ।