धनुषामा एक महिलाको हत्या, श्रीमान पक्राउ


eShilalekh

१३ माघ २०८१, आईतवार १४:५३

सिमराः धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ । धनुषाधाम नगरपालिका ५ पर्वताका अन्दाजी २९ वर्षीय सँगीता ठाकुरको हत्या भएको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार, राति करिब २ः३० बजे देवलाल ठाकुर र उनकी श्रीमती संगीताबीच विवाद भएको थियो । विवादका क्रममा देवलालले लौरो प्रहार गरी संगीताको हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

स्थानीयका अनुसार देवलाल ठाकुरको मानसिक अवस्था सामान्य नरहेको बताइएको छ । घटना पछि प्रहरीले देवलाललाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यसैगरी, शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ ।

यस घटनाले स्थानीय क्षेत्रमा शोक र त्रास फैलाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र प्राप्त प्रमाणको आधारमा कानूनी प्रक्रिया अघि बढाइने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्