बारामा दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई जना गम्भीर घाईते


eShilalekh

१४ माघ २०८१, सोमबार १२:१८

सिमराः बाराको दुई छुट्टाछुट्टै स्थानमा आइतबार साँझ सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । कलैया र आदर्शकोतवालमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका ४ स्थित नेपाल बैंक अगाडि कलैयाबाट बरियापुरतर्फ जाँदै गरेको ना ४ ख ४१८६ नम्बरको तेल बोक्ने ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार रौतहटको बृद्धावन नगरपालिका वडा नम्बर ३ बिश्रामपुरकी ४० वर्षीय बबिता ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी उनकी छोरी ११ वर्षीया मोनी ठाकुरको परवानीपुरस्थित एलएस अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

त्यस्तै आदर्श कोतवाल गाउँपालिका ६ लौकाहामा विपरीत दिशाबाट आएको पिकअप भ्यानले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिदा भारत बिहारका २५ वर्षीय आदित्यकुमार पाठकको मृत्यु भएको छ । उनको वीरगन्जको गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकको पछाडि सवार रौतहटको गौर नगरपालिका १ का २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन् । उनको गण्डक अस्पतालमा उपचार भइरहेकोे छ । फरार भएको भ्यान र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

चालक पर्सा सखुवा प्रसौनी गाउँपालिका १ का २२ वर्षीय दिलिप माझी रहेको र उनीविरुद्ध कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्