सर्पको उद्धारमा समर्पित दीपक, खोज्दैछन् स्थानीय सरकारको साथ
सिमराः बारा जीतपुरसिमरा उपमहानगरपालिका ६ का ३० वर्षीय दीपक नेपाल यतिबेला सफल सर्प उद्धारकर्ताको रुपमा परिचित छन् । करिब डेढ दशकदेखि सर्पको उद्धार कार्यमा सक्रिय दीपकको परिचय गृह जिल्लामा मात्र सिमित छैन । उनलाई पर्सा, रौतहट, मकवानपुरलगायतका जिल्लाका सर्वसाधारणले समेत चिन्न थालेका छन् ।
सर्प उद्धार गरेको भिडियो सामाजिक संजालमा राख्ने गरेका दीपकको परिचय फैलदो अवस्थामा छ । उनले सर्प उद्धार गर्नुपरेमा फोन गर्न अनुरोध गर्दै भिडियोमा आफ्नो मोबाइल नम्बर समेत उलपब्ध गराएका हुन्छन् । त्यसैले पनि दीपकको व्यस्तता र परिचय बढ्दो अवस्थामा छ ।
दीपक अहिले सर्प उद्धार गर्नकै लागि विभिन्न जिल्लामा पुगिरहेका हुन्छन् । सामाजिक संजालबाट उनले कहाँबाट कुन सर्पको उद्धार गरे भन्ने जानकारी लिन सकिन्छ । सर्प उद्धार कार्यका लागि उनी दिनरात भन्दैनन् । जतिबेला फोन आएपनि उनी तयार हुन्छन् । मानवीय सुरक्षासंगै वातावरण र जीवको संरक्षणमा दीपकले देखाएको यो सक्रियतालाई स्थानीय स्तरमा प्रशंसा गर्न थालिएको छ ।
सर्पको उद्धार गर्ने काममा व्यस्तता बढेपछि दीपकले आफूले गर्दै आएको फलाम वेल्डिङ गर्ने पेशा समेत छोडेका छन् । परिवारको गुजारा टार्न गरेको वेल्डिङ पेशा र मानवीय सुरक्षासंग जोडिएको सर्प उद्धारको कार्य दुवै दीपकका लागि उत्तिकै महत्वपूर्ण थियो । तर उनले सर्प उद्धार गर्ने कार्यलाई प्राथमिकता दिए । त्यसैले उनले फलाम वेल्डिङ गर्ने पेशालाई छोडेर सर्पको उद्धार गर्ने कामलाई पूर्णकालिन बनाए ।
सर्प उद्धार गर्ने कार्य उनको परिवारको गुजारा टार्ने मुख्य स्रोत होइन । सानैदेखि सर्पको उद्धारमा रमाउँदै आएका दीपकले परिवारको जिविकोपार्जनका लागि भन्दा पनि मानवीय सुरक्षा, वातावरण तथा जीव संरक्षणको कामलाई निरन्रता दिएका हुन् ।
दीपकको परिवारको आयस्रोत कमजोर छ । उनि घरका एक्ला र अविवाहित छोरा हुन् । बुवालाई गुमाईसकेका दीपक आमासंग बस्छन् । सर्प उद्धार गर्दा कसैले खुशी भएर पैसा दिए उनले स्विकार्ने गरेका छन् । सर्प उद्धार गर्नकै लागि उनले कसैसंग पैसा माग्दैनन् ।
‘सर्प समाउनका लागि मैले कसैसंग पैसा माग्ने गरेको छैन, कसैले खुशी भएर पाँच सय एक हजार दिएमा लिने गरेको छु’ दीपकले भने ‘पैसाका लागि भन्दा पनि आफ्नो आत्मसन्तुष्टिका लागि सर्प उद्धार गर्ने कामलाई निरन्रतता दिँदै आएको हुँ ।’
उनिसंग सवारी साधनका नाममा साइकल मात्रै छ । सर्प समाउनका लागि टाढा जानुपरेमा उनि अरुसंग सहायता माग्छन् । अधिकांश मानिस उनलाई लिन घरमै पुग्छन् र ल्याएर छोडिदिन्छन् । यसरी नै दीपक सर्प उद्धारको काममा व्यस्त छन् ।
दीपकले गर्दै आएको काम सराहनीय र सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको भन्दै विभिन्न संघसंस्थाले उनलाई सम्मान समेत गर्ने गरेको छ । तर उनले स्थानीय सरकारको रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाबाट भने साथ र सहयोग पाउन सकेका छैनन् । नगरबासीको सुरक्षामा प्रत्यक्षरुपमा सक्रिय दीपकलाई हौसला बढाउने सामान्य काम समेत उपमहानगरपालिकाले गरेको देखिदैन ।
‘विभिन्न संघसंस्थाले बेलाबेलामा सम्झिने गरेका छन् । तर जीतपुरसिमरा उपमहानगरपालिकाबाट अहिलेसम्म त्यस्तो केही सहयोग पाएको छैन’ दीपकले भने ‘उपमहानगरपालिकाले सहयोग गर्छ भनेर मैले यो काम गरेको पनि होईन । तर स्थानीय सरकारको सहयोग भएमा हौसला अझै बढ्ने थियो ।’
देशका विभिन्न स्थानीय तहले सर्पको उद्धारमा खटिएका व्यक्तिलाई हौसला प्रदान गर्न सवारी साधन, सेवासुविधा उपलब्ध गराउने गरेको उदाहरण दिँदै दीपकले जीतपुरसिमरामा भने त्यस्तो केही व्यवस्था नरहेको बताए ।
यता जीतपुरसिमरा उपमहानगरपालिकाकी विपद् व्यवस्थापन शाखाकी प्रमुख पुष्पा सिंहले सर्प उद्धारकर्ता दीपकलाई सहयोग गर्न उपमहानगरपालिका तयार रहेको बताउँछिन् । उपमहानगरपालिकाको विपद् व्यवस्थापनभित्र पर्ने कार्य रहेकाले त्यस्ता कामको प्रोत्साहन गर्न आफूहरु तयार रहेको सिंहको भनाई छ ।
‘हामीले सर्प उद्धारकर्ता दीपकलाई सहयोग गर्नका लागि कुराकानी पनि गरेका थियौं, उहासंग भेट पनि गर्यौ’ सिंहले भनिन् ‘तर मोटरसाइकलको माग भएकाले त्यतिबेला त्यो सम्भव भएन । हामीसंग सवारी साधन उलपब्ध गराउने कार्यविधि छैन । तर हामीले प्रोत्साहन भत्ता भने उपलब्ध गराउन खोजेका थियौं । ’
इन्जिनियर सिंहले नेपालजस्तै सर्प उद्धार कार्यमा सक्रिय व्यक्तिको प्रोत्साहनका लागि कार्यविधि बनाएर अघि बढ्न उपमहानगरपालिका तयार रहेको बताईन् । सिंहले यस्ता व्यक्तिहरुको प्रोत्साहनका लागि अन्य पालिकाले अपनाएका विधिपद्धती र जीतपुरसिमरामा गर्न सकिने सम्भावित कामलाई सुझावका रुपमा पेश गर्न समेत अनुरोध गरिन् ।
जीतपुरसिमरा उपमहानगरपालिका ६ का वडाध्यक्ष कैमुदिन अंसारीले सर्प उद्धारकर्ता दीपकको कार्य प्रशंसनीय रहेको बताए । मानव जीवन रक्षाका लागि दीपकको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दै अंसारीले सहयोग गर्नका लागि आफु प्रतिबद्ध रहेको बताए ।
‘हामीले अहिलेसम्म बजेट नै विनियोजन गरेका सहयोग गर्न सकेका छैनौं तर यसपटक शिर्षक तोकेर बजेट विनियोजन गर्छौ’ अंसारीले भने ‘जसले उहाँलाई यस्तो काममा अघि बढ्न हौसला मिलोस् ।’
उपमहानगरपालिका र वडाबाट हालसम्म सहयोग नपाएका दीपकले सर्प उद्धारका लागि आवश्यक उपकरण आफैंले जोहो गरेका छन् । उनका अनुसार सर्प उद्धारका लागि आवश्यक उपकरण उनिसंग छ । तर सवारी साधन नभएकाले समस्या हुने गरेको दीपक बताउँछन् ।
सर्प उद्धारकर्ताको हौसला बढाउन स्थानीय सरकारले के गर्न सक्छ ?
सर्प उद्धारकर्ता व्यक्तिहरूले समाजमा जोखिमपूर्ण र महत्त्वपूर्ण भूमिका निभाईरहेका हुन्छन् । उनीहरूको कामलाई सम्मान गर्न र प्रोत्साहन गर्न स्थानीय सरकारले निम्न कामहरू गर्न सक्छ ।
१. प्रशिक्षण र क्षमता विकासः
सर्प उद्धारकर्ताहरूलाई विशेष तालिम प्रदान गरेर उनीहरूको क्षमता अभिवृद्धि गर्न सकिन्छ । प्रशिक्षित उद्धारकर्ताले सर्पको सही पहिचान र उद्धार प्रक्रियामा थप दक्षता हासिल गर्न सक्छन् ।
२. सुरक्षा उपकरणको व्यवस्थाः
उद्धारकर्तालाई आवश्यक सुरक्षा उपकरणहरू (जस्तै, सर्प पकड्ने उपकरण, पञ्जा, जुत्ता, हेलमेट) उपलब्ध गराउन सकिन्छ । यसले उनीहरूको सुरक्षा सुनिश्चित गर्छ ।
३. बीमाको व्यवस्थाः
उद्धारकर्ताहरूलाई उद्धार कार्यको क्रममा हुने दुर्घटनाबाट जोगाउन बीमा नीति लागू गर्न सकिन्छ ।
४. आर्थिक सहायताः
उद्धारकर्तालाई प्रोत्साहनस्वरूप मासिक भत्ता, पुरस्कार वा आर्थिक सहायता उपलब्ध गराउन सकिन्छ ।
५. सम्मान कार्यक्रमको आयोजनाः
उद्धारकर्तालाई विशेष अवसरमा सम्मान प्रदान गर्न सकिन्छ । यसले उनीहरूलाई हौसला प्रदान गर्छ ।
६. सर्प संरक्षण अभियानमा सामेल गराउनेः
उद्धारकर्तालाई सर्प संरक्षण र जनचेतना अभियानमा संलग्न गराउन सकिन्छ । यसले समुदायमा सर्पसंग सम्बन्धित गलत धारणाहरू हटाउन सहयोग पुर्याउँछ ।
७. सूचना तथा सम्पर्क केन्द्र स्थापनाः
सर्प देखिने घटनाहरूको तत्काल जानकारी दिन स्थानीय सरकारले उद्धारकर्तासंग प्रत्यक्ष सम्पर्क गर्न केन्द्र स्थापना गर्न सक्छ ।
८. सहकार्य र साझेदारीः
वन कार्यालय, जीवजन्तु संरक्षण संघ र गैरसरकारी संस्थाहरूसंग सहकार्य गरेर उद्धारकर्तालाई थप स्रोतसाधन र सहयोग उपलब्ध गराउन सकिन्छ ।
९. जनचेतना अभियानः
समुदायमा सर्पको महत्व, उनीहरूको संरक्षण र उद्धार प्रक्रियाबारे जानकारी दिन अभियान संचालन गर्न सकिन्छ ।
१०. वैज्ञानिक अनुसन्धानमा संलग्न गराउनेः
सर्पहरूको अध्ययन र तिनको संरक्षणमा उद्धारकर्तालाई जोड्न सकिन्छ । यसले उनीहरूलाई थप ज्ञान प्राप्त गर्न र वैज्ञानिक रूपमा योगदान पुर्याउन प्रेरणा दिन्छ ।