समस्यामा सुस्त श्रवण र बौद्धिक अपांगता भएका बालबालिका अध्ययन गर्ने स्रोत कक्षा


निलिसा वर्मा

१७ माघ २०८१, बिहीबार १८:१३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १ सिमरामा बहिरा तथा सुस्त श्रवण र बौद्धिक अपांगता भएका बालबालिकाका लागि लामो समयदेखि स्रोत कक्षा संचालनमा छ । उक्त स्रोत कक्षामा अहिले करिब ४० जना विद्यार्थी छन् ।

बौद्धिक अपांगतामा ती व्यक्ति पर्दछन् जसको मानसिक विकास ढिलो हुन्छ । सुस्त श्रवण भनेको सुन्ने क्षमतामा कमी हुनु हो । यस्ता बालबालिकाका लागि विशेष शैक्षिक कक्षाको आवश्यकता पर्छ जसले उनीहरूको शैक्षिक र सामाजिक विकासमा सहयोग पुर्याउँछ । ती बालबालिकालाई लक्षित गरेर स्रोत कक्षा संचालन गरिएको हो ।

करिब दुई दशकअघि सरकारले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा सुस्त श्रवण र निजगढस्थित नेत्रोदय माध्यमिक विद्यालयमा बौद्धिक अपांगता भएका बालबालिकाका लागि स्रोत कक्षा संचालन गर्न अनुमति दिएको थियो । अहिले दुवै विद्यालयको स्रोत कक्षालाई एकै ठाउँमा समायोजन गरेर सिमरास्थित नेपाल अपांग संघ बाराको आवासिय विद्यालयमा राखेर पढाउने गरिन्छ ।

अपांगता भएका व्यक्तिको हकहित तथा अधिकार सुनिश्चितकालागि भन्दै वि.सं. २०५९ सालमा नेपाल अपांग सेवा संघ, बाराको स्थापना भएको थियो । उक्त संस्थाका संस्थापक अध्यक्ष भोलाप्रसाद अधिकारी हुन् । अधिकारी अहिले जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख हुन् । उनी तत्कालिन पिपरा सिमरा गाविसका अध्यक्ष समेत हुन् ।

संघ स्थापनापछि जिल्लामा ‘जनचेतना’ नाम दिएर कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रमको उदेश्य अपांगता भएका व्यक्तिको पहिचान गर्ने, अपांगता भएका व्यक्तिप्रति समाजमा हुने गलत धारणाविरुद्धको जनचेतना फैलाउने, अपांगता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने भन्ने थियो । उदेश्यअनुसार कार्यक्रमले केही हदसम्म सफलता पनि प्राप्त गर्यो ।

अभियानको क्रममा अपांगता भएका बालबालिका शिक्षाको पहुँचबाट वञ्चित रहेको पाईयो । जिल्लाभरी दृष्टिबिहिन, बहिरा र बौद्धिक अपांगता भएका बालबालिकाको संख्या धेरै थियो । तर ती बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर थिए ।

अपांग संघकै नेतृत्वमा त्यस्ता लक्षित वर्गका लागि जिल्लामा स्रोत कक्षा संचालन गर्न सरकारसंग माग गरियो । सरकारले भूगोल मिलाएर सिमरा, निजगढ, स्रिमौनगढ, कलैयामा स्रोत कक्षा संचालन गर्न अनुमति पनि दियो । सरकारबाट स्वीकृति पाएपछि सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सुस्त श्रवण भएका बालबालिकाका लागि कक्षा संचालन गरियो । स्रोत कक्षा संचालनका लागि सरकारले एक जना राहत शिक्षक र एक जना आया (सहयोगी) लाई सेवासुविधा उपलब्ध गराउँदै आएको थियो । कक्षा संचालन भएपछि सुस्त श्रवण भएका बालबालिका लामो समयसम्म त्यही विद्यालयमा अध्ययन गरे । त्यहाँ अध्ययन गरेका विद्यार्थी अहिले विभिन्न ठाँउमा कार्यरत पनि छन् भने केही विद्यार्थी विदेश पनि गएका छन् ।

२०६९ सालमा तत्कालिन पिपरा सिमरा गाविसको सर्वदलीय संयन्त्रले अपांगता बालबालिकाको विद्यालय भवन निर्माणका लागि १.५ कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय गर्यो । उक्त जग्गामा भवन बनाउन स्वास्थ्य मन्त्रालयले १० लाख, स्थानीय विकास मन्त्रालयले पाँच लाख, जिल्ला विकास समितिले पाँच लाख उलपब्ध गराए । त्यसबाहेक तत्कालिन गाविस, कलकारखाना र स्थानीयले पनि सहयोग गरे ।

भवन निर्माणपश्चात २०७४ सालमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा अन्तर्गत रहेको सुस्त श्रवण स्रोत कक्षाका विद्यार्थीलाई त्यहाँ लगियो । निजगढस्थित नेत्रोदय विद्यालयका बौद्धिक अपांगता अध्ययन गर्ने स्रोत कक्षालाई पनि सिमरामै ल्याईयो । त्यसबेलादेखि नै दुवै स्रोत कक्षालाई अपांग संघको आवासिय भवनमा राखेर कक्षा संचालन हुँदै आएको छ ।

हाल उक्त विद्यालयमा कक्षा ६ सम्म पढाईं हुन्छ । यसअघि कक्षा ५ सम्म मात्रै पढाई हुने गरेको थियो । पाँच कक्षा पढेपछि विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता भएपछि एक कक्षा थप गर्दै ६ को अध्यापन समेत गर्न थालिएको हो । विद्यालयमा अहिले ४० जना विद्यार्थी रहेको अपांग संघ बाराका अध्यक्ष एवम् स्रोत कक्षाका राहत शिक्षक गंगाप्रसाद वाग्लेले बताए ।

गंगाप्रसाद वाग्ले

विद्यालयमा अहिले दुई जना राहत शिक्षक, दुई जना आया र दुई जना निजी शिक्षक छन् । आवासियरुपमा अध्ययन गर्दै आएका विद्यार्थीका लागि संघीय सरकारले प्रति विद्यार्थी मासिक चार हजारका दरले रकम उलपब्ध गराउने गरेको छ । त्यसबाहेक उनिहरुले छात्रवृत्ति पाउने गरेका छन् ।

राहत शिक्षक र आयालाई सरकारले तलबसुविधा उपलब्ध गराउने भएपनि निजी शिक्षकको तलबसुविधा सुनिश्चित छैन । आन्तरिक स्रोत र सहयोगबाटै व्यवस्थापन गरेर निजी शिक्षकलाई सेवासुविधा उपलब्ध गराउने गरेको अध्यक्ष वाग्ले बताउँछन् । वाग्लेका अनुसार निजी शिक्षकले लामो समयदेखि तलबसुविधा पाउन सकेका छैनन् । अध्यक्ष वाग्लेले विद्यालयका लागि दक्ष शिक्षक उलपब्ध गराईदिन जीतपुरसिमरा उपमहानगरपालिकासंग पटकपटक माग गरेपनि सुनुवाई नभएको बताए ।

बौद्धिक अपांगता भएका बालबालिकालाई व्यवहारिक शिक्षा दिने भएपनि सुस्त श्रवण भएका बालबालिकालाई तालिम प्राप्त शिक्षकले पाठ्यक्रमअनुसार पढाउनुपर्ने हुन्छ । उक्त कक्षा संचालनका लागि दक्ष शिक्षकको आवश्यकता पर्छ । विद्यालयमा अहिले दक्ष शिक्षकको कमी छ ।

दक्ष शिक्षक र पूर्वाधार अभावमा अहिले कक्षा ६ पछि विद्यार्थीहरु ‘ड्रप आउट’ हुनुपर्ने अवस्था छ । सुस्त श्रवण भएका बालबालिकाले थप अध्ययन गर्न चितवन र विराटनगर धाउँनुपर्छ । तर त्यहाँसम्म गएर बालबालिकालाई पढाउन अभिभावकले चासो नदिने गरेको अध्यक्ष वाग्लेको अनुभव छ । ‘यहाँबाट निस्किने विद्यार्थीमध्ये केही प्रतिशतमात्रै अन्यत्र गएर पढेका छन्’ वाग्लेले भने ‘नत्र अधिकांश विद्यार्थी घरमै बस्ने, ज्यालादारीमा काम गर्ने गरेको भेटिएको छ ।’ त्यसैले पनि दक्ष शिक्षक र पूर्वाधार तयार गरेर उनिहरुलाई उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन आवश्यक रहेको वाग्लेको भनाई छ ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख एवम् नेपाल अपांग सेवा संघ बाराका संस्थापक अध्यक्ष अधिकारीले बौद्धिक अपांगता तथा सुस्त श्रवण भएका बालबालिकाको शिक्षाका लागि उपमहानगरपालिका गम्भीर रहेको बताउँछन् । अपांगता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्छ भनेर आफूले संघको नेतृत्व गरेकै बेला स्रोत कक्षाको सुरुवात गरेको स्मरण गर्दै अधिकारीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भवनबाट स्रोत कक्षालाई अन्यत्र लैजानु बेठिक रहेको तर्क गरे ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी ।

‘सिमरास्थित विद्यालयमा स्रोत कक्षा स्थापना गरेर सुस्त श्रवण भएका बालबालिकाकाले राम्रैसंग पठनपाठन गरिरहेका थिए । त्यो कक्षा त्यही विद्यालय भवनमै संचालन गर्नुपथ्र्यो भन्ने मेरो भनाई हो’ अधिकारीले भने ‘अहिले यो समस्या पनि आउने थिएन र विद्यार्थीले पढ्ने वातावरण पनि राम्रो हुने थियो ।’

उपप्रमुख अधिकारीले उक्त विद्यालयको अवस्था र समस्याको पहिचान गरी बालबालिकाको अध्ययन गर्न पाउँने अधिकार सुनिश्चित गर्न आफू तयार रहेको बताए । अपांग संघको स्थापनाकालदेखिनै नेतृत्व गर्दै आएकाले अपांगता भएका व्यक्ति र बालबालिकाको विषयमा आफू जानकार उनको भनाई थियो ।

उपप्रमुख अधिकारीकै पहलमा साथी नेपाल नामक संस्थाले उक्त विद्यालयका लागि सोही ठाउँमा चार कोठे भवन निर्माण गरिरहेको छ । यसअघि निवर्तमान नगर प्रमुख स्वर्गीय डा. कृष्ण पौडेलको कार्यकालमा उक्त विद्यालयमा भान्सा कोठा र शौचालय निर्माण भएको थियो । साथी नेपालको सहयोगमा उक्त भवन निर्माण भएपछि पूर्वाधार तत्कालका लागि कमी नहुने र दक्ष शिक्षकको हकमा उपमहानगरपालिकाले आवश्यक छलफल गर्ने उपप्रमुख अधिकारीले बताएका छन् ।

साथी नेपालको सहयोगमा निर्माणाधीन भवन

उपप्रमुख अधिकारीले भनेजस्तै नेपाल अपांग सेवा संघ बाराका पूर्वअध्यक्ष धनप्रसाद बजगाईंले पनि सुस्त श्रवण भएका बालबालिकाको स्रोत कक्षा सिमरास्थित विद्यालयबाट अपांग संघको भवनमा सार्नु उचित नभएको प्रतिक्रिया दिएका छन् । बौद्धिक अपांगता भएका बालबालिकाका लागि अपांग संघको उक्त विद्यालय भवन उचित भएपनि सुस्त श्रवण बालबालिकाका लागि भने उपयुक्त नभएको उनको भनाई छ ।

बजगाईंका अनुसार सुस्त श्रवण भएका बालबालिकालाई कक्षा कोठा फरक भएपनि अन्य विद्यार्थी पढिरहेकै विद्यालयमा राख्न जरुरी थियो । अन्य विद्यार्थीसंग घुलमिल गर्न पाउँने, रहनसहनसंग अभ्यस्त हुने, सुस्त श्रवण भएका विद्यार्थीले आफू पनि अन्य विद्यार्थी सरह नै रहेको महसुस गर्ने हुँदा छुट्टै विद्यालयमा लगेर सुस्त श्रवण भएका बालबालिकालाई पढाउन नहुने बजगाईंको तर्क थियो ।

धनप्रसाद बजगाईं

‘हाम्रो उदेश्य सुस्त श्रवण भएका बालबालिकाले राम्रो शिक्षा पाउन सकुन भन्ने हो । त्यसका लागि हामीले वातावरण पनि त्यस्तै बनाउनुपर्छ’ बजगाईंले भने ‘तर अहिले बौद्धिक अपांगता र सुस्त श्रवण विद्यार्थीलाई मात्रै राखेर अध्यापन गराउँदै आइएको छ । त्यो त्यति उचित हो जस्तो मलाई लाग्दैन ।’

बजगाईंले बौद्धिक अपांगता भएका बालबालिकालाई अपांग संघकै भवनमा र सुस्त श्रवण भएका बालबालिकालाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमै कक्षा कोठा व्यवस्थापन गरेर पढाउनेतर्फ ध्यान दिन जरुरी रहेको बताए । त्यसका लागि अपांग संघ र जीतपुरसिमरा उपमहानगरपालिकाले पहल गर्न आवश्यक रहेको बजगाईंको भनाई छ । बजगाईंले सुस्त श्रवण भएका बालबालिकाको अध्ययनका लागि तालिम प्राप्त दक्ष शिक्षक व्यवस्थापन गर्न समेत आवश्यक रहेको बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा अधिकृत हरिशप्रसाद भट्टले डुमरवाना र रजघट्टामा नगर अन्तर्गत रहेको विद्यालयमै कक्षा संचालन हुँदै आएपनि सिमरामा भने अपांग संघद्धारा निर्मित भवनमा राखेर पढाई भईरहेको बताए । अधिकृत भट्टले बौद्धिक अपांगता, सुस्त श्रवण र दृष्टीविहिन बालबालिकाको शिक्षालाई लक्षित गरेर उपमहानगरपालिकाले योजना बनाउन सके ती बालबालिका लाभान्वित हुने तर्क गरे । ती बालबालिकाको शिक्षाका लागि संघीय सरकारबाटै अनुदान प्राप्त हुने हुँदा उपमहानगरपालिकाले उपकरण र सहायक समग्रीमा सहयोग गर्दै आएको भट्टको भनाई छ ।

हरिशप्रसाद भट्ट

शिक्षाको सुधार गर्न प्रयासरत जीतपुरसिमरा उपमहानगरपालिकाले बौद्धिक अपांगता, सुस्त श्रवण र दृष्टीविहिन विद्यार्थीको शिक्षाका लागि गृहकार्य गरेर अघि बढ्न आवश्यक छ । नगरभित्रको शैक्षिक क्षेत्र उपमहानगरपालिका अन्तर्गत पर्दछ ।
उपमहानगरपालिका र लामो समयदेखी अनुदान उपलब्ध गराउँदै आएको संघीय सरकारले चासो नदेखाउँदा रजघट्टामा रहेको दृष्टीविहिन विद्यार्थीले अध्ययन गर्ने स्रोत कक्षामा पढाई हुन सकेको छैन । उक्त स्रोत कक्षालाई पढाउने शिक्षक छैनन् ।

स्रिमौनगढस्थित विद्यालयको स्रोत कक्षालाई समेत रजघट्टामा ल्याइएको थियो । अन्य स्थानको तुलनामा डुमरवानामा संचालित दृष्टीविहिन विद्यार्थी अध्ययनरत स्रोत कक्षाको अवस्था सन्तोषजनक छ ।

प्रतिक्रिया दिनुहोस्