पर्सा प्रहरीद्वारा लागूऔषध मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ
सिमराः पर्सा प्रहरीले २० वर्षदेखि फरार रहेका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ नगवाका ४१ वर्षीय चन्दन कुमार रौनियार रहेका छन् ।
२०६१ असार १३ गते पर्सा जिल्ला अदालतले रौनियारलाई लागूऔषध मुद्दामा २ वर्ष ७ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । तर, फैसला कार्यान्वयन हुनुअगावै रौनियार फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा उनलाई वीरगन्ज १६ स्थित नगवा क्षेत्रबाट पक्राउ गरेको हो ।
लामो समयदेखि फरार रहेको अभियुक्तलाई पक्राउ गरेसँगै कानुनी प्रक्रिया अघि बढाइने पर्सा प्रहरीले जनाएको छ ।